इटहरी : नेकपा एमाले सुनसरीमा पुनः भाँडभैलो सुरु भएको छ। लामो समय देखीको विवाद समाधान गर्नको लागी आयोजना गरिएको कार्यक्रम भाँडिएको हो।

इटहरी उपमहानगरपालिकाका मेयर तथा पूर्व जिल्ला अध्यक्ष द्वारीकलाल चौधरीले मञ्चको माइक खोसेपछि कार्यक्रम स्थगित भएको छ । २०७५ जेठ २ अगाडीको अध्यक्ष आफू भएको भन्दै उनले माइक निकालेका हुन्। आफूले कार्यबहाक दिएका रमेश बस्नेतले कार्यक्रम बहिस्कार गर्ने र केन्द्रले तोकेका अध्यक्ष रेवतीरमणले पनि अध्यक्षता नगर्ने भएपछि आफूले अध्यक्षता गर्न पाउनुपर्ने उनको माग छ।

हालका अध्यक्ष भनिएका भण्डारी र कार्यबहाक अध्यक्ष बस्नेत दुवैले अध्यक्षता नगर्ने तर केन्द्रको नेताले हस्तक्षेप गर्ने कार्य जायज नभएको उनको तर्क छ। जेठ २ मा फर्कने भए बस्नेत नभएर भण्डारीले अध्यक्षता गर्नुपर्ने उनको भनाई छ । त्यस अघिको जिल्ला परिषद्को अध्यक्ष भएको हिसाबमा आफूले गर्न पाउनुपर्छ भन्ने माग राख्दै उनले विरोध जनाएका हुन् । इनरुवामा आयोजित कार्यक्रमको केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज धर्म निरौलाले अध्यक्षता गरेका थिए ।

उता कार्यबहाक अध्यक्ष रहेका बस्नेतले भने कार्यक्रम बहिस्कार गरेका छन् । उनले पनि पार्टी विधि र पद्धति अनुसार नचलेको भन्दै एकताको लागी आयोजना गर्ने भनिएको कार्यक्रम बहिस्कार गरेका हुन् । दुवै पक्षको सहमतिमा प्रदेश सदस्य खेमराज पोखरेललाई जिल्ला संयोजक बनाउने गरी सहमति भएको थियो ।