इटहरी : प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आज बसेको प्रदेशसभा बैठकमा राईले बहुमत सदस्यको विश्वासको मत पाएका हुन् ।

प्रदेशसभामा राईले ५० मत पाएका हुन् । मत विभाजनको क्रममा उनको पक्षमा ५० मत र विपक्षमा २९ मत खसेको थियो ।

मंगलबार आव्हान गरेको प्रदेशसभा बैठक प्रतिपक्षी एमाले उपस्थित नभएपछि स्थगित भएको थियो । बन्दको कारण आफ्ना सांसदहरू आउन नपाएको भन्दै एमालेले बैठक स्थगित गर्न माग गरेको थियो ।

गठबन्धनको नेतृत्व गर्दै गत कार्तिक १६ गते राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए । प्रदेशसभामा बहुमत प्राप्त संसदीय दल नभएपछि संविधानको धारा १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए ।

९२ सदस्यीय प्रदेशसभामा एमालेका सभामुखसहित ४१, नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र)का १५, नेकपा (एकीकृत समाजवादी)का १०, जनता समाजवादी पार्टीका ३, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाको १–१ जना प्रदेश सांसद छन् ।

नेपाली काङ्ग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको पाँच दलीय गठबन्धनको समर्थनमा राई मुख्यमन्त्री नियुक्त भएका हुन् । पाँच दलीय गठबन्धनको ५० जना सांसद छन् ।