धरान : गोधुली क्लबको आयोजना प्रत्येक वर्ष धरानमा आयोजना भइरहेको गोधुली कप फुटबल प्रतियोगिता यस वर्ष पुस २४ गतेदेखि हुने भएको छ ।

आज क्लबका पदाधिकारीकारी, सल्लाहकार तथा संस्थापकहरूको संयुक्त बैठकले यस वर्ष हुने २२ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कपको आयोजना यही पुस २४ गतेदेखि माघ ८ गतेसम्म गर्ने निर्णय गरेको छ ।

धरान-१७ को गोधुली क्लबले धरानका वडाहरूको टिमलाई प्रतियोगितामा सहभागिता गराउँदै आएको छ । धरानबाट व्यावसायिक फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिरहेको क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

गत वर्षको विजेतालाई नगद रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । यस वर्ष पुरस्कार रकम वृद्धि गर्ने लक्ष्य लिइएको भए पनि कति पुर्याउने भन्ने निर्णय नभइसकेको आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए । गत वर्ष १४ नं. वडाले उपाधि जितेको थियो भने १६ नं. वडा उपविजेता भएको थियो ।