धरान : गायक विजय वाम्बुले राईको 'किराँती हामी' म्युजिक भिडियोको बुधवार एक कार्यक्रमका बिच विमोचन तथा सार्वजनिक गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा गायक डिल्ली फोम्बोले म्युजिक भिडियो प्ले गरेर विमोचन तथा सार्वजनिक गरेका हुन् । 'किराँती हामी' म्युजिक भिडियोको निर्माण पक्ष राम्रो भएको र गीतको भाव र गीतको छायाङ्कन अनि सम्पादन उत्कृष्ट रहेको बताइएको थियो ।

विजय वाम्वुलेको स्वर रहेको सो गीत राष्ट्रिय स्तरका कलाकार भन्दा कम नभएको कार्यक्रमका अतिथिहरूले मन्तव्यको क्रममा बताएका थिए । म्युजिक भिडियोमा मनिता राई र प्रितम सम्बाहाम्फेको अभिनय रहेको छ ।

कार्यक्रममा म्युजिक भिडियो निर्माणको क्रममा सहयोग गर्ने व्यक्तित्वहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने हामी किराँती म्युजिक भिडियो विजय वाम्वुलेको युट्युब च्यानलबाट पनि हेर्न सकिने र प्रतिक्रिया दिन सकिने बताइएको छ ।

सञ्चारकर्मी धिरेन लिम्बुले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता गायक विजय वाम्वुलेले गरेका थिए । कार्यक्रममा वरिष्ठ पत्रकार हर्ष सुब्बा, र गायक डिल्ली फोम्बोले आ-आफ्नो मन्तव्य राखेका थिए ।