इटहरी : पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचा प्रथम सोनापुर गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुनसरीको दुहबी-८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज बुधवार भएको तेस्रो क्वाटर फाइनल खेलमा दुहबी स्पोर्टस एकेडेमी माथि २–१ गोल अन्तरको जित निकाल्दै पूर्वाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पूर्वाञ्चल युनाइटेडको जितमा अभिषेक कालिकोटे एक्लैले दुई गोल गरे । उनले खेलको ७ औ र ५२ औँ मिनेटमा गोल गरेका हुन । दुहबी स्पोर्टस एकेडेमीको तर्फबाट हर्षित चौधरीले ५५ औँ मिनेटमा १ गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । आजको खेलको म्यान अफ द म्याच दुई गोल गर्न सफल पूर्वाञ्चलका अभिषेक कालिकोटे घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।

भोलि बिहीबारको अन्तिम क्वाटर फाइनल खेल इटहरी फुटबल क्लब र आयोजक मेमोरी युवा क्लब बिच हुने आयोजकले जनाएको छ । माघ ३ गतेसम्म चल्ने प्रतियोगितामा सुनसरी र मोरङका ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिता विजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक मेमोरी युवा क्लबका सचिव पञ्चनारायण चौधरीले जानकारी दिए ।