विराटनगर : कोरोना भाइरसको तेस्रो लहर बढिरहेका बेला प्रदेश १ सरकारको टोलीले विराटनगर १६ मा निर्माणाधीन होल्डिङ सेन्टर र जोगवनी नाकाको अनुगमन गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राई, आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की, सामाजिक विकास मन्त्री जयराम यादव सहितको टोलीले सीमा नाकाको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले निर्माणाधीन होल्डिङ सेन्टरको चार दिन भित्र निर्माण सम्पन्न गर्न निर्देशन दिए ।

कोरोना सङ्क्रमणको दर बढिरहेको भन्दै उनले सीमा नाकामा हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्काल एक सय बेडलाई तयारी अवस्थामा राख्न निर्देशन दिए ।

विराटनगरमा सीमा क्षेत्रबाट प्रवेश गर्नेलाई लक्षित गरेर एक हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माणाधीन अवस्थामा रहेको छ । गत असार ३ गतेबाट निर्माण सुरु भएको होल्डिङ सेन्टरको एक महिना भित्र निर्माण सम्पन्न गर्ने नेपाली सेनाले लक्ष लिएको छ ।

नेपाली सेना कालीशक्ति गणका गणपति प्रशान्त बज्राचार्यका अनुसार होल्डिङ सेन्टर निर्माणको कुल लागत २८ करोड ९१ लाख ३३ हजार ६ सय ९३ रुपैयाँ ९३ पैसा रहेको छ ।

बज्राचार्यले पानी र बिजुलीको प्रबन्ध गरिदिएमा चार दिनमै सय बेड क्षमताको होल्डिङ सेन्टर तयार गर्ने बताए । मन्त्री कार्कीले चार दिन भित्रै सेन्टर तयार गर्न भन्दै पानीका लागि आवश्यक सामाग्री आफूले दिने बताए ।

उनले भने,‘बिजुली पानीको काम पनि आजैबाट सुरु गर्नुहोस् । कोरोना जनसुरक्षा कोष, महानगरपालिका सँग समन्वय गर्नुपर्यो । पानी तान्नका लागि कल कहीँ छैन भने म कहाँ आउनुहोस् ।’

सीमा क्षेत्रमा कडा निगरानी गर्न मन्त्री कार्कीले निर्देशन दिएका छन् । ‘सीमा क्षेत्रमा कडा निगरानी गर्नुहोस् । कसैलाई छुट भन्ने हुँदैन । यदि म नै उता पारी गएँ भने पनि खोप कार्ड अनिवार्य गर्नुहोस् । उनले भने हामी सबै मिलेर नै महामारी नियन्त्रणमा लिन सक्छौँ ।’

विराटनगर महानगरपालिका वडा नं १६ का वडा अध्यक्ष मनोज सुब्बाले चार दिन भित्र होल्डिङ सेन्टरमा पानीको प्रबन्ध मिलाउने बताए । जसका लागि प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने उनको भनाई छ । प्रदेश सरकारले महामारी नियन्त्रणमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा मुख्यमन्त्री राजेन्द्रकुमार राईले खोप अभियानलाई पनि क्रमशः बढाउँदै लाने बताए । उनले भोलि नै सबै राजनीतिक दलहरुका बिचमा सर्वदलीय बैठकको आयोजना गरेर सबैलाई महामारी नियन्त्रणमा जिम्मेवार बनाउने जानकारी दिए ।

जोगवनी हेल्प डेस्कका अनुसार पौष महिनामा दुई हजार ३९ जनाको परीक्षण गर्दा ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । यो दर दैनिक रूपमा बढ्दै गएको डेस्कमा रहेका प्रतिनिधिले जानकारी गराएका छन् ।

अनुगमनमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, मुख्यमन्त्री कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सुरक्षाकर्मी निकाय तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।