धरान : धरानमा जारी २२ औँ संस्करणको गोधुली फुटबल रनिङ कपको क्वाटर फाइनल समीकरण पुरा भएको छ ।

आज धरान रङ्गशालामा भएको खेलमा जित हात पार्दै धरान-१६ र धरान-१३ नं. वडा क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यससँगै प्रतियोगिताको क्वाटर फाइनल समीकरण पुरा भएको हो । यस अघि नै धरानको वडा नं. १५, १४, १९, ८, १८ र ११ पनि क्वाटर फाइनलमा प्रवेश गरिसकेका छन् ।

क्वाटर फाइनलका चार वटै खेल भोलि नै सम्पन्न हुने आयोजक गोधुली क्लबले जनाएको छ । जस अनुसार भोलि हुने पहिलो क्वाटर फाइनल खेलमा वडा नं. १४ र १५ बिहान ८ बजे, दोस्रो खेलमा वडा नं.८ र १८ बिहान ११ बजे, तेस्रो खेलमा वडा नं. १६ र १९ दिउसो १ बजे त्यस्तै गरी अन्तिम खेलमा वडा नं. १३ र ११ बिच दिउसो ३ बजे धरान रङ्गशालामा खेल हुनेछ ।

आज भएको पहिलो खेलमा वडा नं. १६ ले वडा नं. ७ लाई ४-० गोल अन्तरले पराजित गरेको थियो । १६ नं. वडाका लागी सरोज लकान्द्रीले २ गोल गरेका थिए भने प्रदीप लिम्बू र जलान तुम्बापोले एक एक गोल गरेका थिए । खेलको म्यान अफ द म्याच १६ नं. वडाका जमिन लिम्बू घोषित भएका थिए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

त्यस्तै गरी आज भएको दोस्रो खेलमा १३ नं. वडाले ६ नं. वडालाई सडनडेथमा पराजित गरेको छ । निर्धारित समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा पुगेको थियो । टाईब्रेकरमा पनि ४-४ गोलको बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । ६ नं. वडाले अन्तिम ३ मिनेट सम्हालिन नसक्दा हार बेहोरेको हो । ६ नं. वडाका समिर लिम्बूले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर खेल सकिन ३ मिनेट बाँकी रहँदा १३ नं. वडाका अशोक कटवालले गोल गर्दै खेल बराबरी गरेका थिए । निर्धारित समयको खेल बराबरीमा सकिएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।

टाईब्रेकरमा ६ नं. वडाका अजय विष्ट, गोविन्द कार्की, समीर लिम्बू र अर्जुन लिम्बूले गोल गरेका थिए भने अमित योञ्जनको प्रहार १३ नं. वडाका गोल किपरले रोकेका थिए । त्यस्तै गरी १३ नं. वडाका विवेक राई, मिलन लिम्बू, आक्रोश कटवाल र मन्दिप राईले गोल गरेका थिए भने निश्चल श्रेष्ठको प्रहार ६ नं. वडाका गोल किपरले रोकेका थिए । सडन डेथमा १३ नं. वडाका विवेक राईले गोल गर्दा ६ नं. वडाका नवीन विश्वकर्माले गोल गर्न चुकेका थिए ।

प्रतियोगिताको विजेताले नगद रु १ लाख ५० हजार र उपविजलताले नगद रु. ७५ हजार पुरस्कार जित्ने तथा शीर्ष आठ टिमले लिग गेम खेल्न पाउनेछन् ।