इटहरी : पूर्वाञ्चल युनाइटेड क्लब सुन्दरहरैचा प्रथम सोनापुर गोल्ड कपको उपाधि नजिक पुगेको छ ।

सुनसरीको दुहबी-८ सोनापुरमा जारी प्रतियोगिता अन्तर्गत आज शुक्रवार भएको पहिलो सेमिफाइनल खेलमा मोरङ बेलबारीको डागीहाट फुटबल क्लबलाई सडेन डेथमा पराजित गर्दै पूर्वाञ्चल युनाइटेडले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ८० मिनेटको खेलमा दुवै टिमले १-१ गोलको बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा पनि दुवै टिमले ५-५ को बराबरी खेलेपछि खेलको निर्णय सडेनडेथबाट लिइएको हो ।

त्यसअघि खेलको ९ औ मिनेटमा डागीहाटका एरोज मगरले गोल गरेर आफ्नो टिमलाई अग्रता दिलाएका थिए । खेलको ४७ औ मिनेटमा पूर्वाञ्चल युनाइटेडका असिम राईले पेनाल्टी मार्फत गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । डागीहाटका खेलाडी अबिष्कार क्षेत्रीले डि–एरियामा हेण्ड गरेपछि पूर्वाञ्चलले पेनाल्टी प्रहारको अवसर पाएको थियो ।

आजको खेलको म्यान अफ द म्याच आयोजक पूर्वाञ्चल युनाइडेडका गोल किपर रोशन कार्की घोषित हुँदै नगद २ हजार रुपैयाँ पाए ।

पूर्वाञ्चल युनाइटेडले उपाधिका लागि सोमबार आयोजक मेमोरी युवा क्लब र एकता युवा क्लब बिराटचौक मोरङ बिच भोलि शनिवार हुने अन्तिम सेमिफाइनल खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता विजेताले नगद १ लाख र उपबिजेताले ५१ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।