धरान : साहसिक खेल पर्यटनमा अग्रणी रहेको प्रदेश १ को सुन्दर शहर धरानमा अर्को नयाँ साहसिक पर्यटन पनि थपिदैछ, त्यो हो जिप फ्ल्याइङ । अर्थात, उच्च ठाउँबाट तारमा डोरीको मद्दतले झुण्डिएर होचो ठाउँतर्फ उडेको अनुभूति गरेर झर्ने खेल ।
संसारभर साहसिक खेलकोरुपमा जिप फ्ल्याइङ प्रसिद्ध छ । नेपालमा अर्को सन्दुर पर्यटकीय नगरी पोखरामा मात्र यो खेलको अनुभव लिन पाइन्छ । धरानको वडा नं २० र १३ को सिमा क्षेत्रमा पर्ने सर्दु खोलामा असोज १२ गते यसको परीक्षण गर्ने तयारी भइरहेको छ । वातावरण तथा पर्यटन विकास केन्द्र(सेड)नेपालले जैविक विविधता पार्कको अवधारणा शुरु गरेको सर्दु खोला क्षेत्रमा यो साहसिक खेलको परीक्षण गर्ने तयारी गरेको हो । यसको लागि वडा २० र १३ संयोजक रहेको सेड नेपालका अध्यक्ष आनन्द श्रेष्ठले जानकारी दिए । उनले भने,‘प्राविधिक आएर हेरिसकेका छन् । अहिले व्यावसायिकरुपमा त होइन, परीक्षण शुरु गरौं भनेर हो । धरानलाई पर्यटनको केन्द्र बनाउन पछि व्यावसायिकरुपमा पनि लैजानुपर्छ ।’
श्रेष्ठका अनुसार वडा २० मा पर्ने डाँडाबाट जिप फ्लाइङ शुरु भएर वडा १३ मा पर्ने पुल नजिक समथर ठाउँमा ल्याण्डिङ हुनेछ । वडा २० को डाँडा उहिल्यै कोशी ब्यारेजको लागि ढुंगा ओसार्न प्रयोग गरिएको रोप वे(घिर्लिङ)को लागि बनाइएको ठाउँ हो । त्यहीबाट जिप फ्लाइङ परीक्षण गरिने श्रेष्ठले बताए । परीक्षणको लागि स्काउटको केन्द्रीय कार्यालयबाट आवश्यक सामग्रीसहित टिम आउनेछ । जिप फ्लाइङ स्काउटलाई हरेक बर्ष सिकाउने गरिएको छ । असोज १२ गते उद्घाटन भएर १३, १४ र १५ गतेसम्म निरन्तर परीक्षण हुनेछ । त्यसक्रममा विद्यार्थीहरुलाई १ सय र अन्यलाई २ सय रुपैया शुल्कमा पनि यो खेलको अनुभव लिने मौका दिइने उनले खुलाए ।
वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले धरानको पर्यटन विकासको लागि केही राम्रो काम हुन्छ भने गर्नुपर्छ भन्ने लागेर सहकार्य गरिएको बताए । उनले भने,‘पर्यटकीय गतिविधि हुन्छ भने गराउनुपर्छ भनेर सल्लाह भएको हो, भविष्यमा पर्यटकहरुलाई भित्र्याउने गरी योजना बनाउनुपर्छ ।’