धरान: बिहिबार होली पर्वमा बिशेष गरी तराईका जिल्लाहरु मस्त झुमिरहेको थियो । होलीमा धरान रमाउन छुटाउने त कुरै भएन । धराने युवायुवती, बाल वृद्धा सबै होलीमा दिनभर मस्त थिए ।

भानुचोकमा त बर्षेनी होलीको दिन कन्सर्ट हुन्छ । यसपाली पनि दिनभर भानुचोकमा कन्सर्टमा धराने युवायुवतीहरु रमाए । तिनै मध्ये थिए, धरान ८, शहिद रत्न मार्गका १७ बर्षीय किसोर मिलन बिक र सिद्धार्थ लाइन मार्गका २० बर्षीय निमा तामाङ । उनीहरु पनि भानुचोकको कन्सर्टमा रमाएर ४ बजेतिर घर फर्कदै थिए । उनीहरुको समुह ४ जना जति थियो । आफ्नै सुरमा घर फर्कदै थिए ।

उनीहरु पुतलीलाइन हुदै आचार्यलाइन मात्र के पुगेका थिए, पछाडिबाट एक्कासी आक्रमण भयो । के भएको हो भन्ने भेउ नै पाएनन् । पछाडिबाट समातेर एक्कासी छुरा प्रहार भयो । निमा तलतिर भागे, मिलन उत्तरतिर । मिलनलाई दाहिने कुम र पाखुरामा छुरा प्रहार भयो । उनी आफै टेम्पो चढेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे । निमालाई छातिमा छुरा प्रहार भएको थियो । दुर्भाग्य, उनको ज्यान बच्न सकेन । ‘हामी त कन्र्सट सकेर घर फर्कदै थियो, आचार्यलाइन पुग्नै लाग्दा एक्कासी पछाडिबाट हान्यो,’आकस्मिक कक्षमा उपचार गराइरहेका घाइते मिलनले भने,‘म मास्तिर भागेर टेम्पो चढेर यहाँ आए, निमा तलतिर भागेको थियो ।’

पुरानै रिसइबीमा आक्रमण

ghaitey1

घाइते मिलनका अनुसार आज कसैसँग विवाद वा भनाभन पनि भएको थिए । कन्सर्ट सकिएपछि साथीहरु पुतलीलाइन हुदै आचार्यलाइन झर्दै गर्दा एक्कासी आक्रमण भयो । आक्रमण गर्नेहरु सबै चिनजानकै थिए । उनका अनुसार निमा र सुसानको पहिलाकै रिसइबी भएकोले आज छुरा हानेको उनले बताए । ‘निमा र सुसनको पहिलानै रिसइबी भएको रहेछ, त्यसैले छुरा हानेको रहेछ,’उनले भने । भोटेपुलको सुसान राई, मनिष लावती, निश्चल बिक र सरण राई मिलेर आक्रमण गरेको मिलनको दाबी थियो ।

३ जना पक्राउ, २ जनाको खोजी तीब्र

इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले घटनामा ५ जना संलग्न भएको आशंका छ । ती मध्ये ३ जना पक्राउ परिसकेको डिएसपी तिम्सिनाले बताए । ‘तीन जना पक्राउ परेको छ, मुख्य २ जना फरार छ । खोजी गरिरहेका छौ,’डिएसपी तिम्सिनाले भने । उनका अनुसार यो घटना धेरै अघिदेखिको रिसइबीबाट भएको हो । यो भन्दा अगाडि निमाले अभियुक्तहरुलाई आक्रमण गरिसकेको खुलेको पनि डिएसपी तिम्सिनाले बताए । ‘आज सुरक्षा व्यवस्था कडा पारिएको थियो । थुप्रै स्थानबाट २१ जना र हातहातियारसहित पक्राउ गरेका थियौ,’डिएसपी तिम्सिनाले भने,‘पानवारी बस स्टेण्डमा ठुलो झगडा हुनबाट जोगायौ, हतियारसहित समात्यौ, तर यता एक्कासी घटना भयो ।’

तस्बिर क्याप्सन: वीपी प्रतिष्ठानमा उपचाररत घाइते मिलन बिक ।