धरान:रमाइलो गरी मनाइने चाड फागु पुर्णिमा अर्थात होली पर्वमा यसपाली धरान निक्कै अशान्त रह्यो । होलीमा निक्कै रत्तिएको धरानमा एक जनाको ज्यान गयो । केही घाइते भए ।

इलाका प्रहरी कार्यालय धरानका अनुसार होलीको दिन बिहिबार धरानमा २३ ठाउँमा समुह समुहमा होलीको कार्यक्रम भएको थियो । ती मध्ये वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै मात्र ३ समुहले होली कार्यक्रम गरेको थियो । धरानको भानुचोकमा त होली हंगमा कन्सर्ट नै आयोजना भयो । धरान बजार ठप्प भएपनि सडक, चोक र बजार होलीको रंगमा रंगिएको थियो ।

hole-hatitarr3

डिएसपी सुमन तिम्सिनाका अनुसार होलीको सुरक्षा चुनौती ध्यान दिदै कुल १ सय ४५ जना प्रहरी खटिएको थियो । इलाका मातहतमा सय जना प्रहरी छन् । थप मद्दतको लागि १ नं प्रदेश प्रहरी र संघीय इकाई प्रहरी कार्यालयबाट गरी थप ४५ जना आएका थिए । तरपनि होली शान्त हुन सकेन । युवा र बिशेष किसोरकिसोरीहरु घरेलु हतियारसहित होली मनाउन हिडेको अवस्थामा भेटिए । कसैसँग चक्कु, कसैको साथबाट बञ्चरो र कसैबाट कट्टी वरामद भए । एक जनाको छुरा प्रहार गरी हत्या भयो ।

प्रहरीले होलीको दिन विभिन्न घटनामा ३५ जना पक्राउ गरेको थियो । ती मध्ये फिल्टर गरेर प्रहरीले १६ जनालाई विभिन्न ३ फरक अभियोगमा मुद्दा चलाएको छ । ‘होली मनाउन धरानबाट मात्र होइन, छिमेकी गाविसतिरबाट पनि केन्द्रीत हुने गरेको पाइयो । अनुहारमा रंग पोतिने र घरबाट पनि फ्रि छोडिने हुदा किसोरकिसोरी र युवाहरुले पुरानो रिसइबीको वदला लिने मौका होलीलाई बनाएको पाइयो,’डिएसपी तिम्सिनाले भने,‘नत्र होली मनाउन किन बञ्चरो, छुरा, कट्टी बोकेर हिड्नु ?’

लागुपदार्थको कुलत र आवेगको परिणाम

murder-holi

होलीमा पक्राउ परेकाहरु अधिकांश ३० बर्ष मुनिका युवा तथा किसोहरु छन् । छुरा हानी हत्या घटनामा संलग्न चार जना मध्ये ३ जनाको उमेर १८ बर्षको छ भने एक जना १७ बर्षका मात्र छन् । कानुनले १८ बर्ष उमेर नपुगेकालाई नाबालक भनेको छ ।
डिएसपी तिम्सिनाका अनुसार नयाँ पुस्ता लागुपदार्थको दुव्र्यसनमा भएकोले यी घटनाहरु त्यसैको आवेगमा भएको बताउँछन् । ‘नयाँ पुस्तामा कुनै डर, त्रास नै छैन । दुव्र्यसनमा भएकोले आवेगमा घटना गराउछन्,’उनले भने,‘होलीमा भएको घटनाहरु त्यसैको परिणाम हो ।’

हत्यामा संलग्न ४ जना सार्वजनिक

murder-holee

होली पर्वको दिन बिहिबार धरानमा छुरा प्रहार गरी धरान ९ स्थित बगैचालाइनमा धरान ८, सिद्धार्थ मार्गका २० बर्षीय निमा तामाङको हत्या भएको थियो । उनको साथी धरान ८ कै १७ बर्षीय मिलन बिकमाथि पनि छुरा प्रहार भएको थियो । उनी भने सामान्य घाइते मात्र भएका थिए ।

प्रहरीले उक्त घटनामा संलग्न चारै जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । उक्त हत्या घटनामा धरान ८ का १८ बर्षीय सुसान्त लिम्बु, १७ बर्षीय निश्चल बिक, १८ बर्षीय शरण राई र धरान ७ स्थित पानवारी बस स्टेण्डका १८ बर्षीय मनिष लावती लिम्बु छन् । चारै जनामाथि कर्तव्य ज्यान मुद्दामा दर्ता भएको छ । डिएसपी तिम्सिनाका अनुसार गएको फागुन पहिलो सातामा निमाको समुहले अर्को समुहलाई छुरा प्रहारको प्रयास गरेको थियो । त्यसैको वदला लिन होलीमा उनीमाथि छुरा प्रहार भएको हो ।

५ जनालाई ज्यान मार्ने उद्योगमा मुद्दा

murder-hole

इलाका प्रहरी कार्यालय धरानले होलीको दिन बिहिबार हतियारसहित पक्राउ परेका पक्राउ परेका ५ जनलाई ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । उनीहरुलाई शुक्रबार जिल्ला अदालतले ४ दिनको म्याद थप गरी अनुसन्धानमा राख्न अनुमति दिएको छ ।

बिहिबार दिउँसो करिब २ बजे धरान ७ शान्तिपथमा धरान ५ देउरालीका २३ बर्षीय सुजन भुजेल र १९ बर्षीय राजन राईमाथि धारिलो हतियार प्रहार भएको थियो । उक्त घटनामा संलग्न भएको अभियोगमा प्रहरीले धरान १५ का २० बर्षीय प्रशान्त लिम्बु, १९ बर्षीय आविष्कार लिम्बु, १९ बर्षीय रोशन तामाङ, १९ बर्षीय बिजु भुजेल र वडा १४ का १९ बर्षीय अभिषेक मगर गरी ५ जना पक्राउ परेका थिए । उनीहरुबाट बञ्चरो, कट्टी, खुर्पासमेत बरामद भएको थियो । घटनामा ज्यान मार्ने उद्योग मुद्दामा जाहेरी परेपछि पाँचै जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

७ जनालाई अभद्र व्यवहार मुद्दा

murder-hole-re4

होलीकै दिन विनाकारण निहु खोजी अपशब्द प्रयोग गरेर अभद्र व्यवहार तथा धाकधम्की दिएको आरोपमा पक्राउ परेका ७ जनालाई प्रहरीले अभद्र व्यवहार मुद्दा चलाएको छ । उनीहरुलाई बिहिबार दिउँसो करिब ४ बजे धरान ७ स्थित पानवारा बस स्टेण्ड नजिकबाट प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा धरान १० का २७ बर्षीय राजकुमार श्रेष्ठ, धरान १५ का १९ बर्षीय दिपक लिम्बु, १९ बर्षीय एल्वीस राई, वडा ११ का १९ बर्षीय रुपा राई, वडा ५ का १९ बर्षीय विनोद राई , वडा १५ का २० बर्षीय जेनिष राई, वडा ३ का २० बर्षीय आकाश मुखिया र २७ बर्षीय कमल मल्ल ठकुरी रहेका छन् । उनीहरु सबैलाई प्रहरीले नियन्त्रणमा लिई अभद्र ब्यवहार मुद्दामा अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।