धरान: पटक पटक विवादमा फसेका इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले अराजकशैली पुनः दोहोर्याएका छन् ।

उनले पत्रकार विराट अनुपमलाई पुनः नाक भाँच्ने धम्की दिएका छन् । आफ्नो पदीय मर्यादाको पनि ख्यालै नगरी चौधरीले यसको लागि एक करोड रुपैया र घडेरी नै छुट्याएको पनि बताएका छन् । घटना आजको हो । पत्रकार अनुपम र मेयर चौधरीबीच मोवाइल सम्पर्कमा कुराकानीको क्रममा चौधरीले यस्तो धम्की दिएका हुन् । 'तिमीले के लेख्न बाँकी राखेका छौं ? तिम्रो नाकको हड्डी भाँच्नलाई मैले एक करोड छुट्याई राखेको छुँ बुझ्यौं । एउटा घडेरी छुट्याएको छुँ,'मेयरले भनेका छन्,'तिम्रो नाकको हड्डी भाँच्न मात्र बाँकी छ कि अब म गुण्डागर्दीमै उत्रिए । तेरो नाकको हड्डी भाँचेर मात्र मलाई सन्तोष हुन्छ भाई।'

केही साताअघि चौधरीले कर्मचारीलाई घुस खाएको आरोप लगाउदै कुटपिट गरेका थिए भने एक जनालाई कामबाट निकालेका थिए । सोही बिषयमा प्रतिक्रिया लिन पुगेका पत्रकारलाई मेयर चौधरीले लोपारीदिएका थिए । उनको त्यो हर्कतको भिडिया भाइरल बन्यो भने मेयर चौधरी आलोचित पनि बने । सामाजिक सञ्जालमा पनि मेयर चौधरीले जथाभावी लेख्ने र टिप्पणी गर्ने गरेका थिए । सर्वत्र आलोचना भएपछि उपमेयर लक्ष्मी गौतमले विज्ञप्ती जारी गर्दै माफी मागेकी थिइन् । तर, पत्रकार महासंघ सुनसरीले मेयर चौधरीले नै माफी माग्न माग गर्दै ४८ घण्टे अल्टिमेटम दिएपछि चौधरीले एक विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःख व्यक्त गरेका थिए । तर, उनले त्यो विज्ञप्तीमा माफी मागेको कतै उल्लेख गरेका थिएनन् ।

पत्रकार विराट अनुपमले धम्की दिएकोप्रति भने,'सार्वजनिक पदमा बसेर आफ्नो पदीय मर्यादा पनि ख्याल नगर्ने मान्छेलाई के भन्नु ? म र पत्रकार मात्र होइन, आम सेवाग्राही, कर्मचारीहरु सबै पीडित छन् । केही टिप्पणी गर्न चाहन्न ।' कर्मचारी कुटपिट र पत्रकारलाई लोपारेको घटनालगत्तै मेयर चौधरी विदामा बसेका थिए । उनी हाल पनि काठमाण्डौंमा नै छन् । मंगलबार उतैबाट पत्रकार विराटलाई धम्की दिएका हुन् ।

पत्रकार महासंघको दोष

मेयर चौधरीले पुनः पत्रकारलाई धम्की दिएका घटना बाहिरिएपछि सुनसरीका अग्रज पत्रकार सुविद गुँरागाईले घटना दोहोरिनुमा पत्रकार महासंघको कमचोरी औल्याएका छन् । उनले पत्रकारहरु संगठित भएर द्धारिकलालको झाँको झार्न नसक्नु कमजोरी भएको उल्लेख गर्दै यसअघिको घटनामा दुःख व्यक्त गर्नुलाई नै क्षमा मागेको ठान्नु भुल भएको पनि टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,'यो मामलामा म द्वारिकलालको होइन पत्रकार महासंघको दोष देखिरहेको छु । पत्रकारहरु संगठित भएर द्वारिकलालको झाँको झार्न नसक्नु हामी सबैको कमजोरी हो । अस्ति दुःख व्यक्त गर्नुलाई क्षमा मागेको ठान्नु हाम्रै भूल हो । बूढी मरेकोमा होइन काल पल्किरहेकोमा चिन्तन गरौँ साथी हो ।'