इटहरी: इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले उद्योग वाणिज्य संघको चुनावको लागि मात्र व्यवसाय दर्ता गरेर व्यापारी भएकाहरुलाई कर नतिरेमा छोराछोरीको जन्मदर्ता र नागरिकता रोकिदिने चेतावनी दिएकी छिन् ।

उद्योग बाािण्ज्य संघको साधारणसभामा बोल्दै उपमेयर गौतमले बिहिबार यस्तो चेतावनी दिएकी हुन् । गलत मानिसले व्यवसायीक प्रमाणपत्र लिएको आरोप लगाउँदै उनले भनिन्, ‘चुनाव जित्नका लागि किसान, ड्राईभर, खलासीले फर्म दर्ता गराएका छन्, भोली कर नतिरे तिनका छोराछोरीहरुको जन्मदर्ता, नागरिकता रोकिदिन्छु ।’

उपमेयर गौतमको यो अभिव्यक्तिप्रति भने व्यपारीहरुले असन्तुष्टी पोखेका छन् । उपमेयर गौतमले चुनावी मैदानमा उत्रिएका भीम पौडेल र शैलेस बिष्टका बारेमा औल्याउँदै भनिन्, ‘खोलाको दोहन गर्नेलाई किन मत हाल्नु ?’ उनले बिष्टको पक्ष लागेर पौडेललाई आक्षेप लगाएको भन्दै व्यापारीहरु आक्रोश पोखेका थिए । कार्यक्रमस्थलमा केहीबेर तनावसमेत सृर्जना भएको थियो । आक्रोशित व्यपारीहरुले नाराबाजीसमेत गरे । कार्यक्रम हलमा उपमेयरविरुद्ध नारासमेत लाग्यो । संघको यही असार १४ गते शनिबार नेतृत्व चयनको लागि चुनाव हुदैछ । चुनावमा पौडेल र विष्टको प्यानल चुनावी मैदानमा छ ।

चुनावी अभियान अघि नै पौडेल र बिष्ट पक्षधरका मानिसहरुले व्यापारीलाई करको दायरमा ल्याएको बताइरहेका छन् । उद्योग बाणिज्य संघका पूर्व महासचिव दिवस पोखरेलले इटहरीमा व्यवसाय गर्न जो कोहीले पनि पाउने प्रतिक्रिया दिदै उपमेयरले कसैको पक्ष र विपक्षमा बोलेर विवादमा फसेको टिप्पणी गरे ।'सार्वजनिक पदमा बसेको व्यक्तिहरुले जे मनलाग्यो त्यही बोल्ने होइन, आफ्नो मर्यादा र सिमामा रहेर समन्वयकारी भुमिका र अभिव्यक्ति दिनुपर्ने हो,'उनले भने,'झन् विवादमा आफै फस्ने कुरा गर्नु ठिक होइन ।'