धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट मध्यरातमा एक नवजात शिशु चोरी भएको छ ।

प्रहरी र चिकित्सकको सक्रियताले चोरी भएको केही समयपछि नै नवजात शिशु धरान १५ स्थित वगरकोटबाट फेला परेको थियो भने दुई जना महिला पनि पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा धरान १५ की लिला बिक र उनकी भाउजु मिना लिम्बु बिक रहेका छन् । उनीहरुविरुद्ध बच्चा चोरी तथा अपहरणको जाहेरी आइसकेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘बच्चा चोरी भएकै हो, उनीहरुको नियत खराब देखिएको छ । यसबारे जाहेरी आइसकेको छ,’डिएसपी न्यौपानेले भने,‘एक जना महिला १०, १२ दिनदेखि पोष्ट नेटल वार्डतिर नै बसेर सहयोग गरेजस्तो गरेर विश्वास जितेर हिजो राती आफन्त निदाएको बेला बच्चा चोरी गरेको देखिन्छ ।’

घटना गए राती करिब १२ बजेतिरको हो । सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका १ का दिपनारायण मेहता र बबिता मेहताको नवजात शिशु(छोरा) चोरी भएको हो । बबिताले असार १३ गते छोरा जन्म दिएका थिए । आमा र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिएपछि उनीहरुको वार्डमा नै राखेर उपचार भइरहेको थियो । बच्चाका बुबा दिपनारायणका अनुसार केही दिनअघि देखि नियमित रुपमा लिला बिक वार्डमा कुरुवा जस्तो भएर आउने जाने गर्थिन् । ‘हिजो राती पनि हाम्रो क्याबिनमा आएर सुतेको रहेछ । हाम्रो आफन्त कुरुवा बसेको थियो, सबै निदाएको बेला बच्चा निकालेर अर्को महिलालाई बोलाएर पठाएछ,’दिपनारायणले भने ।

दिप नारायणका अनुसार बबिता बिउझिए पछि बच्चा नदेखेर हल्लीखल्ली भयो । तत्काल डाक्टर र प्रहरी आइपुगे । शंका लागेको महिला(लिला बिक) वार्ड बाहिर सुतिरहेको अवस्थामा भेटियो । शुरुमा त लिलाले आफु अचेत भएजस्तो वहाना गरिन् । तर, उनको मोवाइलबाट कल गएको पछिल्लो नम्बरमा डाक्टरले फोन गरे । फोनमा बच्चा रोएको आवाज सुनेपछि लिलालाई कडाई सोधखोज गर्दा चोरी भएकै पत्ता लाग्यो । ‘लिलाले भाउजुलाई बोलाएर बच्चा टेम्पोमा पठाएर उ चै यही बसेको रहेछ, पछि बगरकोटबाट बच्चा ल्यायौं,’दिपनारायणले भने । प्रहरीले बच्चा चोरीमा लिलाको प्रत्यक्ष संलग्नता देखिएको जनाएको छ । मिनाको पनि संलग्नता देखिए पनि पुर्वयोजनामा उनको संलग्नता भए नभएको बारेमा थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।