धरान: धरान १६ को चर्चित घटना धर्मपुत्री अनुसा राईको जर्बजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत सुनसरीबाट जन्मकैद फैसला पाएका धर्मपिता वलिमान र उनकी श्रीमति पदमकुमारी राई रिहा भएका छन् ।

उच्च अदालत विराटनगरले जिल्ला अदालतको फैसला उल्टाइदिए पछि राई दम्पत्ति छुटेका हुन् । जिल्ला अदालतको फैसलाविरुद्ध राई दम्पत्तिले उच्च अदालतमा पुनरावेदन गरेका थिए । सोही मुद्दाको सुनुवाई गर्दै उच्च अदालतले असार ३१ गते दुवैलाई निर्दोष सावित गर्दै रिहाई गरिदिएको हो । उच्च अदालतका निमित्त मुख्य न्यायाधिश प्रेमराज कार्की र न्यायाधिश रामप्रसाद अधिकारीको संयुक्त इजलाशले जिल्लाको फैसला उल्टाइदिएको थियो ।

यसअघि, गत बर्षको पुष ३० गते जिल्ला अदालतले दुवैलाई अनुसाको जर्बजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैद फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालतमा जाने कानुनी बाटो खुला थियो । राई दम्पत्ति उच्च अदालत जाने निश्चित थियो । 'पेशी, सुनुवाई कहिले छ भन्ने थाहै पाइएन, नत्र हामी बहस गर्न जान्थ्यौ,'जिल्ला अदालतमा अनुसाको पक्षबाट बहस गरेका एक वकिलले भने,'यति छिटो छिटो होला भन्ने थाहै पाइएन ।'

वलिमान र उनकी श्रीमति पदमकुमारीलाई धर्म छोरी बनाएर राखेकी बालिका अनुसाको करणी र हत्या गरेको आरोप लागेको थियो । उनीहरुले अनुसा आफै बिष पिएको दाबी गरेको थिए । छरछिमेकी कसैलाई थाह नदिई अन्तिम दाह सँस्कार गर्न लागेपछि घटना रहस्यमय बनेको थियो । स्थानीयबासी, अधिकारकर्मीहरुले घटनाप्रति ध्यानाकर्षण जनाउदै छानबिनको माग गरेका थिए । यो बिषयमा स्थानीयबासी, अधिकारकर्मीहरुले सडक आन्दोलन गरेपछि मात्र प्रहरीले घटनाको अनुसन्धान थालेको थियो । आन्दोलनको क्रममा राई दम्पत्तिको घरमा तोडफोड र आगलागी पनि भएको थियो ।

अनुसाको २०७३ फागुन १६ गते हत्या भएको थियो । जिल्ला अदालतले २०७३ चैत १४ मा राई दम्पत्तिलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो । करिब २२ महिनापछि जिल्ला अदालतले २०७५ पुष ३० गते अन्तिम सुनुवाई गर्दै जन्मकैदको पैmसला गरेको थियो ।