धरान: विश्वमै दुर्भल र विषालु मानिने किङ कोब्रा(राजगोमन) धरानको उच्च क्षेत्रमा भेटिएको छ ।

आज शनिबार धरान २० स्थित कालीखोला क्षेत्रमा किङ कोब्रा भेटिएको हो । उक्त कोब्राको सर्प उद्दारकर्ता प्रेम विष्टले उद्दार गरेर आफैसँग लगेका थिए । उनी मोरङको इलाका वन कार्यालय मंगलबारेका सशस्त्र वन रक्षक पनि हुन् । उनले यो ज्यादै दुर्लभ सर्प भएकोले वन कार्यालयमा आफैले संरक्षण गरेर राख्ने र अरुलाई ज्ञान बाँड्ने बताए । ‘यो असाध्यै दुर्लभ सर्प हो, कोशी पुर्व अहिलेसम्म किङ कोब्रा भेटिएको प्रमाण थिएन,’विष्टले भने,‘यो सर्प पुर्वमा पनि छ भनेर प्रमाण भेटिएको यो नै पहिलो हो ।’

सिस्नु टिप्न गएका धरानका केही युवाहरुले लामो र ठुलो सर्प देखेपछि पत्रकार भैरव आङ्लालाई खबर गरेका थिए । उनले नै सर्प उद्दारकर्ता विष्टलाई खबर गरेका थिए । करिब ९ फिट लामो किङ कोब्राले साढे ६ फिट लामो धामन सर्प खाएकोले ठुलो देखिएको थियोे । नेपालमा भएको ३ प्रजातिको गोमन सर्पमध्ये यो सबैभन्दा बिषालु भएको विष्टले बताए । जानकारहरुका अनुसार नेपालमा हालसम्म चितवन र म्याग्दीमा मात्र किङ कोब्रा भेटिएको पुष्टि भएको थियो ।

king-kobra