पाकिस्तान : पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा ६५ जनाको मृत्यु भएको छ । कराँचीबाट रावलपिन्डीतर्फ जाँदै गरेको तेज गाम एक्सप्रेसको रेलको तीनवटा डिब्बामा आगो लाग्दा मृत्यु हुनेको संख्या ६५ पुगेको हो ।

पाकिस्तानी अधिकारीहरुका अनुसार घटनामा परि अरु ३० जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने जनाइएको छ । पाकिस्तानी रेलमन्त्री शेख रशिद अहमदले रेलमा सवार यात्रुले ग्यासमा खाजा बनाएर खान लाग्दा सिलिन्डर विस्फोट हुँदा आगलागी भएको जानकारी दिएका छन् ।

उनले आगलागी पूर्णरुपमा नियन्त्रणमा लिइएको र घाइतेहरुलाई उपचारका लागि अस्पताल पुर्याइएको जानकारी दिएका छन् । प्रधानमन्त्री इमरान खानले घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उपचार सरकारले गर्ने बताएका छन् ।