धरान: नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाइन्छ । अधिकांश सामाजिक तथा स्वास्थ्य संस्थाहरुले त्यसदिन निःशुल्क मधुमेह र प्रेसरको जाँच गर्छन् ।

यो दिवसको अर्को पाटो पनि छ, नोभेम्बर महिनाभरि विश्व मधुमेह सचेतना दिवस पनि मनाइन्छ । लायन्स क्लब अफ बिराटनगर युनाइटेड, लियो क्लब अफ बिराटनगर युनाइटेड र लियो क्लब अफ धरान घोपा युनाइटेडले संयुक्त रुपमा बिराटनगरबाट मधुमेह र रक्तचाप जाँच शुरुवात गरेको छ । नोभेम्बर १४ का दिन विश्व मधुमेह दिवस मनाउने गरिए पनि आफुहरुले महिनाभरी सधै धरान, इटहरी र बिराटनगरमा शिविर राख्ने गरिएको लियो क्लब अफ धरान घोपा युनाइटेडका सचिव लियो शुभम कुमार अग्रवालले बताए ।

ती संस्थाहरुले श्री बिराटेस्वर बृद्ध आश्रम परिसरमा शिविर आयोजना गरेर जाँच शुरुवात गरेको हो । शिविरमा ५० जना भन्दा बढीको निःशुल्क ब्लड सुगर र प्रेसर परीक्षण गरिएको थियो भने निःशुल्क परामर्श पनि दिइएको आयोजक संस्था लायन्स क्लब अफ बिराटनगर युनाइटेडकी अध्यक्ष लायन्स कला खड्काले जानकारी दिइन् । यस्तै, जाँच गरिएका व्यक्तिहरुमध्ये करिब १० प्रतिशतको सुगर उच्च देखिएको लियो बिराटनगर युनाइटेडका अध्यक्ष लियो आरिफ अन्सारीले जानकारी दिए ।

रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परिक्षणकालागि कोसि अस्पताल रिफर गरिएको छ । उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनी रोगले सताउने र विशेषगरी खानपिनमा ध्यान नदिने, शारीरिक व्यायमको अभ्यास नगर्ने कारणले बयस्क उमेरदेखि नै चिनी रोगले सताउने गरेको लियो क्लब अफ धरान घोपा युनाइटेडका सचिव लियो शुभम कुमार अग्रवालले बताए ।

रगतमा हुने चिनीको मात्राले मानव शरीरमा हुने मृगौलासँग प्रत्यक्ष सरोकार राख्दछ । अधिकांश चिनी रोगका बिरामीहरुलाई बिस्तारै मृगौलाको समस्या देखिने गरेको छ । शरीरको महत्वपूर्ण अङ्ग मृगौला खराब भएको थाह नपाइने वा कुनै लक्षण नै नदेखिने भएकोले अन्तिम अवस्थामा मात्र थाहा हुन्छ । त्यसैले नियमित परीक्षण गर्न एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत लियो अग्रवाल आग्रह गर्छन् ।