झापा: भारतको पाहुना टोली मोलवे एफसी असामलाई पहिलो चरणमै पराजित गर्दै त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बुधबार भएको तेस्रो क्वाटरफाइनलमा २–० गोलले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निर्धारित ८० मिनेटको खेलमा आर्मीले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेको हो । आर्मीका लागि टेकबहादुर बुढाथोकी र दिपक गुरुङले गोल गरेका हुन् । खेलको ६ मिनेटमै गोल गरेर आर्मीले अग्रता लिएको थियो । जसमा टेकबहादुर बुढाथोकीले सम्झनलायक गोल गरेका थिए ।

दायाँ कर्नरबाट टंक बस्नेतले दिएको क्रस पासमा टेकबहादुरले गोल गरेका हुन् । टंकको क्रसमा आएको एयर बललाई चिप गर्दै टेकबहादुरले गोलपोस्टको दिशा दिएका थिए । प्रतिस्पर्धात्मक खेलमा अधिकांश समय आर्मीले असामको गोलपोस्टमा आक्रमण बुनेको थियो । त्यस्तै, असामले आर्मीविरुद्ध संघर्षपूर्ण प्रदर्शन गरेर झापाली दर्शकको समर्थन बटुलेका थिए । तर, असामका खेलाडीको फ्रन्ट लाइनमा फिनिसिङ राम्रो नहुँदा स्कोर भने हुन सकेन ।

army1

असामका खेलाडीले खेलको ७४ मिनेटसम्म आर्मीलाई १–० को स्थितिमा रोकेको थियो । तर, असामका गोलरक्षक अल्वर्ट ह्मारको कमजोरीले आर्मीले अग्रता दोब्बर बनाएको थियो । खेलको ७४औँ मिनेटमा पाएको फ्रिकिकमा दिपक गुरुङको प्रहार गोलमा परिणत भएको थियो । दिपकको सोझै प्रहार गोलरक्षक अल्वर्टको हातमा परे पनि बल फुत्किएर जाली चुमेको थियो ।खेलको म्यान अफ दी म्याच खेलको पहिलो गोलकर्ता आर्मीका टेकबहादुर बुढाथोकी घोषित भए । पुरस्कार सौजन्यकर्ता समाजसेवी श्याम गुरुङले नगद १० हजार प्रदान गरे ।

कुल १० वटा टिम सहभागी गोल्डकपमा बिहीबार चर्च ब्वाइज एफसी काठमाडौँविरुद्ध गोर्खा ब्वाइज एफसी बुटबलबीच हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।