धरान: आगामी मंसिर १४ गते धरानमा मेयर पद र वडा नं ७ को अध्यक्ष पदको उपनिर्वाचन हुदैछ । सधै कम्युनिष्ट पार्टीले जित्दै आएको धरानमा यसपाली पनि नेकपा र नेपाली कांग्रेस दुई ठुला पार्टी बीचमा नै कडा प्रतिस्पर्धा हुनेछ ।

चुनावमा कस्ले बाजी मार्ला ? मंसिर १४ गतेको मतदानको नतिजाले नै बताउन सक्छ । तर, अहिले बजार, चोक र चिया पसलहरु सबैतिर चुनावी गफ र नतिजाको अंकगणित भइरहेको छ । यी दुई दलबाहेक अन्यले पनि उम्मेदवारी घोषणा गरिरहेका छन् । तर, सबैको नजर भने नेकपा र कांग्रेसका उम्मेदवार र पार्टीका गतिविधिहरुमा अडेको छ । यी दुवै दल अहिले उम्मेदवारसहित चुनावी अभियान, घरदैलोमा ब्यस्त छन् । संयाग कस्तो रह्यो भने आज बिहिबार दुवै पार्टीका उम्मेदवारबीच धरानको वडा नं ६, पानवारीमा घरदैलोको क्रममा जम्काभेट भए । दुवैले अंकमाल गरेको तस्बिर अहिले चर्चामा छ ।

दुवै दलले आफ्नो चुनावी अभियान ग्रामिण भेगबाट गरे । कांग्रेसले तिहार अघिदेखि नै उम्मेदवार तिलक राईसहित साविक विष्णुपादुका गाविस(हाल वडा नं २०)बाट घरदैलो अभियान गरेको थियो । त्यसपछि साविक पाँचकन्या गाविस(हाल वडा नं ४ ) हुदै वडा ६ मा आज घरदैलो गरेको हो । यस्तै, ढिला गरी चुनावी अभियानमा होमिएको नेकपाले पनि वडा नं ४ बाट उम्मेदवार प्रकाश राईसहित आफ्नो घरदैलो अभियान थालनी गर्यो । दोस्रो दिन वडा नं २० पुगेको नेकपाले आज वडा नं ६ मा घरदैलो गर्यो ।

tilak-&-prakash

सहर बजारमा त निक्कै अघिदेखि नै चुनावी चहलपहल भएकै थियो । उम्मेदवारसहित यी दल ग्रामिण क्षेत्रमा पनि घरदैलो गर्दै पुगेपछि गाउँघरमा पनि चुनावी लहर छाएको छ । ग्रामिण भेगका जनता यतिबेला धान काट्न ब्यस्त छन् । उम्मेदवारहरु मतदातालाई खेतमा भेटेर मत मागिरहेका छन् । २०७४ सालमा सम्पन्न भएको चुनावमा तत्कालिन एमालेका तारा सुब्बा विजयी भएका थिए । तर, उनको एक बर्ष कार्यकाल पुरा नहुदै निधन भएपछि एक बर्षदेखि मेयर पद खाली छ । यस्तै, धरानको वडा नं ७ का अध्यक्ष भुवन मोक्तानको पनि निधन भएपछि त्यहाँ पनि वडाअध्यक्षको चुनाव हुदैछ ।

कांग्रेसका उम्मेदवार तिलक राई गएको स्थानीयतह चुनावमा पनि उम्मेदवार थिए । उनी तत्कालिन एमाले उम्मेदवारसँग ४ हजार ८ सय ७३ मतान्तरले पराजित भएका थिए । उनी कांग्रेस नगर सभापति पनि हुन । यस्तै, नेकपाका उम्मेदवार प्रकाश राई जिल्ला कमिटि सदस्य हुन् । अघिल्लो पटक चुनावको हारबाट पाठ सिकेर आफु यसपाली जनताको मन जित्न घरदैलो अभियानमा रहेको बताए । उनी यसपाली कांग्रेसले जित हासिल गर्ने दाबी गर्छन् । नेकपा उम्मेदवार राई भने सधै कम्युनिष्टले जित्दै आएको र कम्युनिष्ट नेतृत्वले नै धरानको विकास गरेकोले धरानमा अरुले जित्न नसक्ने बताउँछन् ।

राजनीतिक विश्लेषकहरु भने तीनै तहको सरकारको नेतृत्व गरिरहेको नेकपालाई विगतमा जस्तो सहज जित हासिल गर्न कठिन हुनसक्ने बताउँछन् । जनतामा सरकारको काम, कारवाहीप्रति आक्रोश पैदा भएको र यसको लाभ विपक्षी पार्टीहरुले उठाउन सक्ने उनीहरुको भनाई छ ।

election2 election1