झापा: त्रिभुवन आर्मी क्लब यहाँ जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पाहुना टोली भारतको सिक्किम आक्रमण एफसीमाथि टाइब्रेकरबाट कठिन जीत निकाल्दै आर्मीले फाइनल यात्रा गरेको हो । सिक्किमसँगको रोमाञ्चक भिडन्तपछि भएको टाइब्रेकरमा आर्मीले नतिजा आफ्नो पक्षमा पार्यो । दुवै टोली पहिलो हाफ गोलरहित खेलेको थियो । आर्मीले टाइब्रेकरमा ४–३ गोलले सिक्किमको चुनौती समाप्त पारेको हो ।

उत्कृष्ट प्रदर्शन गरेको सिक्किमले सेमिफाइनलबाटै बाहिरिएपछि समर्थक निशास बनेका थिए । टाइब्रेकरमा सिक्किम आक्रमणका विरेन प्रधान, मनोज काच्वा र करण राईले मात्र गोल गरेका थिए भने एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाए । विकास क्षेत्रीको प्रहार भने बारमा लाग्दै फर्किएको थियो । आर्मीका लागि दिपक गुरुङ, विकास तामाङ, राजीव गुरुङ र विवेक बस्नेतले गोल गरे भने कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलरक्षक मनोज प्रधानले बचाएका थिए ।

झापाली दर्शकको समर्थन पाएको सिक्किमका खेलाडीले थुप्रै अवसर खेर फालेका थिए । त्यस्तै, आर्मीका खेलाडीको आक्रमणलाई सिक्किमका गोलरक्षक मनोज प्रधानले विफल तुल्याइदिएका थिए । आर्मीको तुलनामा सिक्किमका खेलाडी अधिकांश समय बल पोजिसन लिए पनि फ्रन्ट लाइनबाट फिनिसिङ कमजोर हुँदा स्कोर हुन सकेन । दोस्रो हाफपछि सिक्किमका खेलाडी आक्रमक बन्दा आर्मीका खेलाडी अतालिएका थिए । सिक्किमको छरितो खेलमा आर्मीको प्रदर्शन केही फिजिकल भएको थियो । जसका कारण आर्मीका ४ जना खेलाडीले पहेँलो कार्ड पाए । सिक्किमका खेलाडीतर्फ ३ वटा पहेँलो कार्ड देखाइएको थियो ।

निर्धारित समयमा आर्मीका टंक बस्नेत, टेकबहादुर बुढाथोकीलगायत गोल गर्न चुकेका थिए भने सिक्किमका लागि करण राई, गणेश लिम्बूले पनि स्कोर गर्न सकेनन् । आर्मीमा नियमित खेलाडी, भरत खवास, नवयुग श्रेष्ठ, सुमन अर्याल, जज प्रिन्स कार्कीको अभाव महसुस गरिएको थियो । खेलको म्यान अफ दी म्याच आर्मीका गोलरक्षक विवश चौधरी घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । १० वटा टिम सहभागी गोल्डकपमा शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेबीच अन्तिम सेमिफाइनल खेल हुनेछ । गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार पाउँदा उपविजेताले नगद ६ लाख २५ हजारसहित ट्रफी पाउनेछ ।