विराटनगर: विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय नजिकबाट अवैध हुण्डी कारोबारको सात लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । हुण्डीको रकमसहित विराटनगर–१४ का ३० वर्षीय ज्योतिकुमार साह र भारत जोगवनीका १९ वर्षीय विक्कीकुमार साह रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिँउजुले बताए । को ३९ प ७३९६ नम्बरको मोटरसाइकलमा हुण्डीको रकम ओसारपसार भइरहेको सूचनाका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ । खिँउजुकाअनुसार मोटरसाइकल चालक ज्योतिकुमारका साथबाट चार लाख र पछाडि बसेका विक्कीकुमारको साथबाट तीन लाख गरेर सात लाख रुपैयाँ बरामद भएको छ । भारतबाट हुण्डीको रकम लिएर नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका उनीहरुलाई मोटरसाइकल र बरामद भएको रकमसहित आइतबार आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

बरामद भएको रकमको स्रोत खुलाउन नसक्दा गत शुक्रबार साँझ पक्राउ परेका उनीहरुले उक्त रकम भारत अररिया जिल्ला जोगवनी बजारका एक हुण्डी कारोबारीले पठाएको प्रहरीलाई बताएका छन् । सम्बन्धीत व्यक्तिले पाएपछि एक लाखको एक सय रुपैयाँ दिने सर्तमा रकम पठाइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खिँउजुको भनाइ छ ।