धरान: प्रदेश सरकार गठन भएको लामो समय पछि आज १ नं प्रदेशमा मन्त्रीपरिषद विस्तार हुदैछ ।

नयाँ मन्त्रीहरुको दिउँसो ३ बजे सपथ ग्रहणको तयारी भइरहेको छ । यद्यपी, अहिलेसम्म को को मन्त्री बन्ने भन्ने टुंगो लागिसकेको छैन । स्रोतका अनुसार एक मन्त्री र ४ राज्यमन्त्री थपिने सम्भावना छ । ‘मन्त्रीको कुरा भए पनि अहिलेसम्म ४ राज्यमन्त्री मात्र थपिने सम्भावना छ,’स्रोतले भन्यो,‘दिउँसो ३ बजे सपथ हुन्छ, थपिने मन्त्रीहरुको नाम टुंगो लागिसकेको छैन ।’

उच्च स्रोतका अनुसार आज सपथ हुने ४ राज्यमन्त्रीमा एक जना महिला हुनेछन् । स्रोतका अनुसार थपिन लागेको ४ राज्यमन्त्री मध्ये ३ साविक एमालेतर्फका हुनेछन् भने एक जना साविक माओवादी केन्द्रका हुनेछन् । साविक एमालेले आफ्ना मन्त्रीको नाम लगभग टुंगो लगाइसकेको छ । साविक माओवादीतर्फबाट नाम टुंग्याउन बाँकी छ ।

स्रोतका अनुसार इलामका राम राना, ओखलढुंगाका अमिरबाबु गुरुङ र झापाकी जसमाया गजमेर मन्त्री बन्ने दौडमा अगाडि छन् । यस्तै, झलकसिंह दर्लामी, विजय विश्वास, कुसुम श्रेष्ठ, रामकुमार राई, कला घले पनि मन्त्री बन्ने दौडमा छन् । नेकपाको दुई तिहाई बहुमतको प्रदेश सरकार गठन भएपछि लामो समयदेखि मन्त्रीपरिषद विस्तारको चर्चा चलेको थियो । अहिलेसम्म मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, अर्थ मामिला मन्त्री, सामाजिक विकास मन्त्री र उद्योग, वन तथा वातावरण, पर्यटन मन्त्री मात्र छन् ।