काठमाडौँ: विमानस्थलमा महिला प्रहरीले आफुलाई दुव्र्यवहार गरेको भन्दै सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत प्रहरीमाथि आक्रोश पोखेकी गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारको उजुरी दर्ता भएको छ ।

त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचमा रहेकी प्रहरी जवान रमिता श्रेष्ठले आफुलाई गायिका राउतले डिउटीको बेला गालीगलौज र अभद्र व्यवहार गरेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दर्ता गराएकी थिइन् । जवान श्रेष्ठको उजुरी र सो घटनाको सीसीटीभी फुटेज महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरी पठाइएको थियो । प्रहरी आयुक्तको कार्यालयले सीसीटीभी फुटेज र जवान श्रेष्ठको उजुरीलाई आधार मान्दै काठमाडौं परिसरलाई उजुरी दर्ता गरेर कारवाही प्रकृया अगाडि बढाउन निर्देशन दिएको थियो । सो निर्देशन पछि परिसरमा औपचारिक रुपमा उजुरी दर्ता भएको छ ।

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारीले गायिका राउतलाई पक्राउ गर्न अनुमति दिएको छ । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् । प्रहरी परिसर काठमाडौंले आइतबार नै जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेर गायिका राउतलाई अनुसन्धानका लागि झिकाउने प्रकृया अघि बढाएको छ ।

मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन। त्यस्तो कसुर गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने व्यवस्था गरिएको छ ।

गायिका राउतले विमानस्थलमा सुरक्षा जाँचको क्रममा प्रहरी जवानले ‘तँ’ भनेको भन्दै प्रहरी मेरो साथी भन्ने नारा हटाउन भनेकी थिइन् । जुनियर प्रहरीहरुलाई तल्लोस्तरको शब्द प्रयोग गर्दै गालीगलौज गरेपछि प्रहरी संगठन र गायिका राउतविरुद्ध पनि सामाजिक सञ्जालमै गालीगलौज पनि हुन थालेको थियो । राउतको फेसबुक लाइभले स्वयम गायिका र प्रहरी संगठनलाई पनि विवादमा तानेपछि प्रहरीले घटनाको छानबिन गर्ने र दोषी देखिए कारबाही गर्ने जनाएको थियो ।

प्रहरीले घटनासँग सम्बन्धित सिसिटिभि फुटेज सार्वजनिक गरेपछि भने प्रहरीले गायिका राउतविरुद्ध कारबाही गर्ने मनस्थितिमा पुग्यो । फुजेटबाट आस्थामाथि दुर्व्यवहार नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरी दाबी छ । त्यसपछि नै प्रहरी जवान श्रेष्ठले अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाहीको माग गर्दै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमार्फत किटानी जोहरी दिएकी थिइन् ।