धरान(डेस्क): प्रदेश सरकारको मन्त्रिपपिरषदमा एक महिलासहित चार नयाँ राज्यमन्त्री नियुक्त भएका छन् ।

आज मुख्यमन्त्री शेरधन राईको सिफारिशमा प्रदेश प्रमुख सोमनाथ प्यासीले चार नयाँ राज्यमन्त्रीहरु नियुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव गोपीप्रसाद घिमिरेले विज्ञप्ती जारी गर्दै मुख्यमन्त्रीले सिफारिश गरेका चार राज्यमन्त्रीलाई नियुक्ती गरेको जानकारी गराएका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई ३ बजे प्रदेश प्रमुख कार्यालयमा सपथ खुवाउने तयारी भइरहेको छ । पुर्वएमालेबाट ३ जना र पुर्वमाओवादी केन्द्रबाट एक जना राज्यमन्त्री नियुक्त भएका हुन् ।

आज नियुक्त हुने राज्यमन्त्रीहरुमा रामबहादुर मगर, अम्बिरबाबु गुरुङ, जसमाया गजमेर र विजय विश्वास रहेका छन । विश्वास पुर्वमाओवादीका हुन् भने अन्य तीन पुर्वएमालेबाट हुन् । मगर भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका हुन् भने गुरुङ भौतिक पुर्वाधार विकास राज्यमन्त्री, गजमेर सामाजिक विकास राज्यमन्त्री र विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

संविधानको धारा १६८ को उपधारा ९ मा प्रदेशसभाको कुल संख्याको २० प्रतिशत बढी नहुने गरी मन्त्रीपरिषद गठन गर्नसक्ने व्यवस्था गरिएको छ । कुल ९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६३, कांग्रेसको २१, समाजवादी पार्टीको ३, राप्रपाको १ र संघीय लोकतान्त्रिका राष्ट्रिय मञ्चको १ सांसद छन् । अहिलेसम्म मुख्यमन्त्री, आन्तरिक मामिला तथा कानुन मन्त्री, अर्थ मामिला मन्त्री, सामाजिक विकास मन्त्री र उद्योग, वन तथा वातावरण, पर्यटन मन्त्री मात्र छन् ।