धरान: नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी धरानमा ‘सोनाम ल्होछार साँस्कृतिक पर्यटन महोत्सव’ आयोजना हुने भएको छ ।

नेपाल तामाङ घेदुङ धरान नगर कमिटीले आज आइतबार पत्रकार सम्मेलन गरेर धरान–१५ स्थित श्याम चोकमा १५ दिनसम्म महोत्सव सञचलन हुने जानकारी दिएको हो । महोत्सव आउदो माघ ११ गतेदेखी सुरु हुनेछ । धरान–१५ स्थित ङाग्युर ञीङ्मा ङ्युङ्ने ल्हाखाङ गुम्बाले प्रत्येक वर्ष आयोजना गदै आएको महोत्सव यस पटकदेखी घेदुङ धरान नगर कमिटीले आयोजना गर्न लागेको हो । महोत्सवमा २० वटा स्टलहरु राखिने घेदुङका नगर अध्यक्ष प्रेम वाइबाले बताए । उनका अनुसार स्टलमा तामाङ जातीको मौलिक खानाका परिकार, भेषभुषा, संस्कृतिका सामग्रीहरु राखिने भएको छ । अन्य समुदायको पनि साँस्कृतिक स्टलहरु रहने उनको भनाइ थियो ।

महोत्सवमा धरानका २० वटै वडाका तामाङ समुदायको सहभागीता रहने गुम्बाका लामा राजेन्द्र स्याङ्बोले बताए । ‘विगतमा आ–आफ्नै ठाउँमा कार्यक्रम गरी ल्होसार मनाउदै आइएको थियो, तर यस पटकदेखी सामुहिक रुपमा ल्होसार मनाउन लागिएको हो,’उनले भने । यो वर्षको सोनाम ल्होसार ‘फलाम पुरुष मुसा वर्ष’ को रुपमा मनाउन लागिएको बताए । महोत्सवले नेपाल भ्रमण वर्ष २०२० लाई पनि सहयोग पुग्ने उनले बताए । उनले भने ‘तामाङ जातीको साँस्कृतिक भेषभुषा, कला संस्कृतिको प्रदर्शन रहने छ त्यसको प्रचार हुन्छ ।’

महोत्सवको उद्घाटन धरान उपमहानगरपालिकाका मेयर तिलक राईले गर्ने कायृक्रम तय भएको आयोजकले जनाएको छ । उद्घाटन पूर्व बृहत झाँकी, ¥याली प्रदर्शन गदै धरान नगर परिक्रमा गरिने जनाइएको छ । महोत्सव अवधिभर प्रत्येक राष्ट्रिय तथा स्थानीय ब्याण्ड हरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । गायक प्रेम लोप्चन, इन्दिरा गोलेलगायत स्थानीइ कलाकारको प्रस्तुती रहने छ । महोत्सव अवधिभर विद्यालय स्तरीय बाल नृत्य तथा बाल गायन प्रतियोगिता समेत आयोजना हुने आयोजकले जनाएको छ ।