चितवन: सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित आरोपित तीनै जनाले अदालतबाट सफाई पाएका छन् ।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले उनीहरुलाई सफाई दिएको हो । श्रेस्तेदार रुद्रमणी गिरीका अनुसार लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीले सफाई पाएका छन् । उनीहरुमाथि पुडासैनीलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा मुद्दा चलाइएको थियो । थुनछेक बहसपछि केही महिनाअघि रावलकै इजलाशले लामिछानेलाई केही सर्तसहित ५ लाख, कँडेललाई ३ लाख धरौटीमा छोडेको थियो भने अस्मितालाई सादा तारेखमा छोड्न आदेश दिएको थियो ।

लामो समय न्युज २४ मा सँगै काम गरेका पुडासैनीले चितवनको एक होटलमा आत्महत्या गरेका थिए । उनको मोवाइलमा आत्महत्या गर्न बाध्य बनाउने भनेर लामिछाने, कार्कीको नाम लिएका थिए । उक्त रेकर्ड बाहिरिएपछि प्रहरीले सञ्चारकर्मी लामिछानेलाई पक्राउ गरेर चितवन लगेको थियो । त्यसको विरोधमा लामिछानेका समर्थकहरुलाई चितवनमा व्यापक प्रर्दशन पनि गरेका थिए ।