बिराटनगर: १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले दुई जना प्रहरी सहायक निरीक्षक(असई)लाई पुष महिनाको सर्वोत्कृष्ट प्रहरी(पुलिस अफ दि मन्थ) घोषित गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले क्षेत्रीय अनुसन्धान समूह (आरआइटि)मा कार्यरत असई किरण मोक्तान र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत असई दुर्गा पोमु लिम्बुलाई पुलिस अफ दि मन्थ घोषणा गरेको छ । व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठरुपमा रहेर उच्च मनोवल र साहसका साथ अवैध हातहतियार, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन सफल भएको र प्रहरीको छवि उच्च बनाउन साथै आमजनतामा सुरक्षाको अनुभूती वृद्धि गराएको भन्दै दुवैलाई पुलिस अफ दि मन्थ घोषणा गरेको जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले प्रदेशभरिका प्रहरीहरुमध्येबाट उत्कृष्ट कार्य गर्दै आएका प्रहरीलाई हरेक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरी कर्मचारीलाई पुरस्कृत गरी उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ राखिनेछ भने १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ‘क’ स्तरसम्मका प्रहरी कार्यालयहरुमा एक महिनासम्म राखिने गरिन्छ । गत मंसिर महिनामा इलाका प्रहरी कार्यालय दिङला भोजपुरमा कार्यरत महिला प्रहरी जवान सविना खत्रीलाई पुरस्कृत गरिएको थियो ।