धरान: सुर्य नेपाल इष्टर्न ओपन २०२० मा धरानका व्यवसायिक खेलाडी बलभद्र राई(मणी) शीर्षस्थानमा रहन सफल भएका छन् ।

पार ७० को निर्वाणा गल्फ कोर्षमा बुधबार दोस्रो दिनको खेल समाप्ती हुँदा उनी कुल ६ अण्डर १३४ स्कोरका साथ शीर्षस्थानमा रहेका हुन् । उनले पहिलो दिन १ अण्डर ६९ स्कोर गर्दै तेस्रो स्थानमा रहेका थिए । दोस्रो दिन बुधबार उत्कृष्ट ५ अण्डर ६५ स्कोर गर्दै शीर्षस्थानमा उक्लिए । उनले बुधबार फ्रन्ट नाइनमा ३ अण्डर ३३ र ब्याक नाइनमा २ अण्डर ३२ स्कोर गरेका थिए ।

दोस्रो स्थानमा पनि धरानकै युवा गल्फर शुक्रबहादुर राई रहेका छन् । दोस्रो दिन ३६ होलको खेल सकिदासम्म उनको कुल ३ अण्डर १३७ स्कोर रहेको छ । बुधबार उनले लेभल पार ७० स्कोर खेले । पहिलो दिन मंगलबार उनले ३ अण्डर ६७ स्कोर गर्दै दोस्रो स्थानमा नै थिए । नेपालकै नम्बर वान गल्फर शिवराम श्रेष्ठ कुल १ ओभर १४१ स्कोरको साथ तेस्रो स्थानमा छन् । मंगलबार १ ओभर ७१ स्कोर गरेका उनलै बुधबार इभन पार ७० खेले ।

mani-rai-golfer

समान ४ ओभर १४४ स्कोरका साथ दिनेश प्रजापति, शिवकुमार माझी र धनबहादुर थापा संयुक्तरुपमा चौथो स्थानमा छन् । यस्तै, समान ५ ओभर १४५ स्कोर गरेका भुवन नगरकोटी र सञ्जय लामा संयुक्तरुपमा सातौं स्थानमा छन् । साथै, ६ ओभर १४६ स्कोर गरेका जयराम श्रेष्ठ र दिपक मगर संयुक्त नवौं स्थानमा छन् ।

एमेच्योरतर्फ पनि धरानका निरज तामाङ कुल ५ अण्डर १३५ स्कोरका साथ शीर्षस्थानमा छन् । कुल ७ ओभर १४७ स्कोरको साथ सुन्दर राई दोस्रो र ९ ओभर १४९ स्कोरका साथ शुक्रराज राई तेस्रो स्थानमा छन् । प्रतियोगितामा दोस्रो दिनको खेल समाप्ती भएपछि २४ औं स्थानसम्म रहन सफल कुल ३१ खेलाडीहरु मात्र तेस्रो दिनको लागि छनौट भएका छन् ।