धरान: धरान खानेपानी व्यवस्थापन बोर्डमा गाभिने भएपछि खानेपानी मन्त्रालयले धरानस्थित खानेपानी संस्थान, शाखा कार्यालयको सम्पत्ति तथा दायित्व र जिम्मेवारी हस्तान्तरणको लागि मुल्यांकन गर्न एक समिति गठन गरेको छ ।

मुल्यांकन समिति बुधबार संस्थानको सम्पत्ति मुल्यांकन गर्न धरान आएको समितिलाई संस्थानको पक्षमा रहेका धरानेहरुको एक टोलीले घेराउ गरेको थियो । मन्त्रालयले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका प्रमुख चक्रपाणी शर्मा आचार्यको संयोजकत्वमा ५ सदस्यीय मुल्यांकन समिति गठन गरेको हो । समितिमा काठमाण्डौं उपत्यका खानेपानी व्यवस्थापन बार्डका इञ्जिनियर प्रतिनिधि, धरान उपमहानगरपालिकाका प्रतिनिधि, खानेपानी संस्थानको धरान शाखा प्रमुख सदस्य र खानेपानी मन्त्रालयका इञ्जिनियर मधुसुदन खनाल सदस्य सचिव रहेको छ ।

यही टोली बुधबार संस्थानको सम्पत्ति मुल्यांकन गर्न धरान आएको थियो । संस्थानको कार्यालय पुगेको टोलीलाई संस्थानको पक्षमा संघर्षरत धरानेहरुले घेराउ गरेको थियो । उनीहरुले संस्थानको संरचनालाई जर्बजस्ती मुल्यांकन गरेर हस्तान्तरण गरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिए ।

संघर्षको नेतृत्व गरिरहेका हर्क साम्पाङले खानेपानी आयोजना असफल भएको दाबी गर्दै संस्थानलाई बोर्डमा हस्तान्तरण नगर्न माग गरे । उनले आयोजनाको नाममा खर्च भएको २२ मिलियन डलरको हिसाब सार्वनिक गर्न, लक्ष्य अनुसारको पानी उत्पादन र वितरण गरेर देखाउन पनि माग गरे । ‘संस्थान धरानबाट हटाउन हुदैन भन्ने धरानबासीहरुको माग छ, यो आवाजको सुनुवाई हुनुपर्छ कि पदैन ?’उनले भने । मुल्यांकन समितिका संयोजक शर्माले ४५ दिन भित्र संस्थानको सम्पत्ति, दायित्व मुल्यांकन गरेर प्रतिवेदन बुझाइसक्ने बताए । उनले कर्मचारीहरुको सेवा, सुविधाको बिषय पनि समेटिने र धरानबासीहरुको आवाज पनि समेट्ने बताए ।