इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले नेकपाका नेता रामप्रसाद चौलागाईलाई पक्राउ गर्न नगर प्रहरी परीचालन गरेका छन् । चौलागाईले सार्वजनीक जग्गामा घर बनाएको भन्दै उनलाई जहाँ भेट्यो त्यहीँबाट पक्राउ गरेर ल्याउन चौधरीले नगर प्रहरी परीचालन गरेका हुन् ।

शुक्रबार बिहान १० बजे नै कार्यालय पुगेका चौधरीले उपमेयर लक्ष्मी गौतमले प्रयोग गर्ने गाडीमा चौलागाईलाई ल्याउन निर्देशन दिएका थिए । मेयरको निर्देशन पछी चौलागाईको घरैमा पुगेको नगर प्रहरी खाली हात फर्कीएको थियो । इटहरी साना सहरी खानेपानी उपभोक्ता संस्थाको अध्यक्ष समेत रहेका चौलागाई खानेपानीको कार्यालयमा हुनसक्ने भन्दै नगर प्रहरी सोही स्थानमा पुग्यो । त्यहाँ पनि चौलागाई लाई नभेटेपछी नगर प्रहरी पुनः उपमहानगर कार्यालय पुग्यो ।

नेकपा नेता माधव कुमार नेपाल शुक्रबारै इटहरी उपमहानगर आउने कार्यक्रम थियो । कार्यकर्ता भेटघाटमा नेकपाको इटहरी पार्टी कार्यालय आएका उनलाई भेट्न सुनसरी र मोरङका कार्यकर्ता आएका थिए । सो कार्यक्रममा चौलागाई आउन सक्ने भन्दै मेयर चौधरीले नगर प्रहरीलाई पार्टी कार्यालय जान निर्देशन दिए । चौलागाई पक्राउ गर्न परीचालीत प्रहरीका अनुसार दिनैभरी मेयर चौधरीको निर्देशनमा चौलागाई पक्राउ गर्न उनीहरु परीचालीत भए ।

साँझसम्म चौलागाइ खोज्दै कुदेको नगर प्रहरी अन्तत थकीत भएर उपमहानगर कार्यालय प्रवेश गर्यो । बिहीबार मात्र इटहरी-२ मा रहेको रोयल रिसोर्ट संचालकलाई बोलाएर खोला मिचेको भन्दै मेयर चौधरीले थर्काएका थिए । पछी १५ दिन भित्र खोला मिचेको जती भवन भत्काउने गरी कागज गरेर औंठा छाप लगाउन लगाए ।  रोयल रिसोर्टले जस्तै चौलागाइले पनि खोला मिचेको भन्दै खोला मिचेको जती घर भत्काउने नभए घरमै वडा कार्यालय राख्ने गरी सहमती गराउन चौलागाईलाई कार्यलय ल्याउने मेयरको योजना थियो । तर मेयर चौधरीको निर्देशनमा परीचालीत नगर प्रहरीले चौलागाईलाई भेट्न सकेन ।