धरान : धरान-१६ रंगशालास्थित सुनसरी जिल्ला बक्सिङ प्रशिक्षण केन्द्रमा निर्माण गरिएको ‘बक्सिङ रिङ’को बिहीबार उद्घाटन गरिएको छ ।

बक्सिङ रिङको उद्घाटन धरान उपमहानगरपालिकाका नगर प्रमुख तिलक राईले गरेका छन् । प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको आर्थिक सहयोगमा २ लाख ६५ हजार रुपैयाँको लागतमा बक्सिङ रिङको निर्माण गरिएको सुनसरी जिल्ला बक्सिङ प्रशिक्षण केन्द्रका अध्यक्ष विकास कुमार गुभाजुले बताए । उनले प्रदेश १ का बक्सिङ खेलाडीहरुलाई लक्षित गरी प्रशिक्षण केन्द्रको स्थापना गरिएको बताए । ‘खेलाडीहरुले प्रतियोगितामा मात्र रिङमा खेल्ने मौका पाउछन्, नतिजा पनि राम्रो आउदैन’ केन्द्रका अध्यक्ष गुभाजुले भने ‘रिङमा खेल्ने बानी भयो भने खेलाडीहरुको खेलको स्तर पनि बढ्छ, नतिजा पनि राम्रो आउछ, त्यसैले हामीले रिङको निर्माण गरेका हौं ।’

boxing-dharan

यही वर्ष प्रशिक्षण केन्द्रको स्थापना गरिएको हो । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य देबेन्द्र लिम्बुले आफुहरुले विना रिङ खेलेको बताउदै रिङमा खेल्दा प्रतियोगिता जित्न सहज हुने बताए । ‘प्रतियोगितामा बाहेक हामीले कहिले पनि रिङमा खेल्न पाएनौं तर तिमीहरुले रिङमा प्रशिक्षण लिने मौका पायौं’ लिम्बुले भने ‘अब तिमिहरुले थुप्रै प्रतियोगिता जित्नुपर्छ ।’ उद्घाटनको क्रममा केक समेत काटिएको थियो । खेलाडीहरुलाई प्रशिक्षकद्वय निमा तामाङ र अनुप लामाले प्रशिक्षण दिने अध्यक्ष गुभाजुले बताए । उद्घाटनको क्रममा विभिन्न उमेर समूहका खेलाडीहरुले मैत्रीपूर्ण खेल प्रदर्शन गरेका थिए । कार्यक्रममा बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक, निर्णायक, रेफ्रिलगायतको सहभागीता रहेको थियो ।

12 1