विराटनगर : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानले उम्मेदवारी घोषणा गरेका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रूपमा विराटनगरमा बिहीबार आयोजना गरेको कार्यक्रममा प्रधानले उम्मेदवारी घोषणा गरेका हुुन् । आगामी चैत २८ गते महासंघको निर्वाचन हुँदैछ । जसको लागी एक महिना अगाडी देखी उद्योगी व्यवासायीहरुले उमेद्धवारी घोषणा गर्न सुरु गरीसकेका छन् ।

बिराटनगरको बिग होटलमा एक कार्यक्रमको आयोजना गरी उमेद्धवारी घोषणा गरेका हुन् । घोषणा सभामा सम्बोधन गर्दै उनले आफ्नो उम्मेदवारी महासंघलाई सबल, सक्षम र उद्योगी व्यवसायीहरूको अभिभावक संस्था बनाउनको लागी हुने बताए ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । आगामी चैत अन्तिम सातादेखि हालका वरिष्ठ उपाध्यक्ष गोल्छाले महासंघको नेतृत्व सम्हाल्नेछन् । देशभरका उद्योगी व्यवसायीहरूको भावनालाई समेटेर महासंघलाई गर्व गर्न लायक संस्था बनाउने प्रधानले उद्घोष गरे । उनले केही व्यक्तिका कारण विगत एक दशकयता महासंघको भूमिका कमजोर भएको बताए । महासंघमा आफूले २६ वर्षभन्दा बढी समय खर्च भइसकेको बताउँदै प्रधानले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएको समेत प्रस्ट पारे ।

प्रधानले ६० वटाभन्दा बढी जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरू आफ्नो समर्थनमा रहेको दाबी गरे ।

घोषणासभामा पूर्वअध्यक्ष विनोदबहादुर श्रेष्ठ, कुशकुमार जोशी, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघको केन्द्रीय सदस्यहरूको तर्फबाट देवकुमार श्रेष्ठ, जिल्ला उद्योग वाणिज्य संघका तर्फबाट धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे, आयोजक संस्था उद्योग संगठनका भीम घिमिरे, पूर्वअध्यक्ष सुशील धनावत, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साहलगायतले महासंघलाई बलियो बनाउन साढे दुई दशकभन्दा लामो अनुभव बटुलेका प्रधानलाई नेतृत्वमा पुर्याउनुपर्नेमा जोड दिए । घोषणासभामा ७ वटै प्रदेशका ३५ वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्षसहित पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।