काठमाडौं : सरकार गठन भएको दुई वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने बताइएको छ । बिहान ११ बजेका लागि बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले दुई वर्षमा सरकारले हाँसिल गरेका उपलब्धी र प्रगतिका बारेमा सांसदहरुलाई जानकारी गराउने बताइएको छ ।

यसअघि संसद सचिवालयले हिजोको बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यसूची तय गरेको थियो । तर राष्ट्रियसभाका कांग्रेस सांसद दुर्गाप्रसाद उपाध्यायको निधनमा शोध प्रस्ताव पारित गर्दै प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।

बैठकमा उपाध्यायको निधनमा संसदमा एक मिनेट मौनधारण गरेपछि वैठक स्थगित गरिएको हो । क्यान्सर रोगबाट पीडित कांग्रेस सांसद उपाध्यायको भरतपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा हिजो बिहान निधन भएको थियो ।