झापा : ईच्छाशक्ति भयो भने स्वदेशमै कुनै न कुनै ईलम गरेर पनि स्वरोजगार बन्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् पाँचथर कुम्याक गाउँपालिका ३ रानीगाउँ स्थायी घर भएका इन्द्र लिम्बु । लिम्बु अहिले झापाको दमकमा बस्छन् । उनी लामो समय वेदैशिक रोजगारीमा कहिले ईराक त कहिले अफ्गानिस्तानमा रहे । अहिले लिम्बुले बिदेशबाट फर्किएर झापाको दमकमा नेपाली कागज उत्पादनको घरेलु उद्योग खोलेका छन् ।

लिम्बुले दमकमा विगत ६ महिनादेखि पाथीभरा नेपाली कागज उद्योग स्थापना गरि नियमित कागज उत्पादन गर्दै आएका छन् । वैदेशिक रोजगारीको शिलशिलामा इराक र अफगानिस्तानमा ३ बर्ष ब्यातित गरेर स्वदेश फर्केको र नेपालमै परिवारको साथमा बसेर केहि गरौं भन्ने उदेश्यले नेपाली कागज उत्पादन सुरु गरेको उनी बताउँछन् ।

वैदेशिक रोजगारीमा रहँदा कमाएको केहि रकमबाट उनले यो नेपाली कागज उत्पादन गर्ने उद्योग सुरु गरेका हुन् । झण्डैे ५ लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उद्योगमा अहिले ४ सय वटा फे्रमबाट दिनमा ३ देखि ४ पटक सम्म कागज उत्पादन भईरहेको छ । सरकारी कामकाज होस या त अन्य लेखापढीको लागि पनि नेपाली कागजको प्रयोग गर्ने चलन छ । बजारमा पनि नेपाली कागजको माग धेरै छ । तर कच्चा पदार्थ टाढाबाट ल्याउनु पर्ने बाध्यताले गर्दा समस्या भईरहेको उनी बताउँछन् ।
लिम्बुले अहिले आफ्नो उद्योगमा ४ जनालाई रोजगारी पनि दिएका छन् । विदेशमा रहँदा अरुको खटनपटन सहनुपर्दाको पीडा सम्झदै लिम्बु भन्छन्, ‘आफै मालिक बन्दा त बेग्लै आनन्द आउँदो रहेछ ।’ उद्योगलाई अझै ब्यबस्थीत र बिस्तार गरि थप रोजगारी श्रृजना गर्ने उनको लक्ष्य छ ।

यहाँ उत्पादित नेपाली कागज स्थानीय बजारसंगै संघीय राजधानी काठमाण्डौं, प्रदेश राजधानी विराटनगर, चितवन लगायतका बजारसम्म जाने गरेको लिम्बु सुनाउँछन् । स्वदेशमा रोजगारीको अवसर नै छैन भन्दै दिनहुँ विदेशीने युवा जमातका लागि लिम्बुले स्वदेशमै स्वरोजगार बनेर अरुलाई रोजगारी दिलाएर गतिलो झापड दिएका छन् । उनी विदेशीने युवा जमातलाई स्वदेशमै कुनै ईलम गरेर बस्न शल्लाह पनि दिन्छन् ।