काठमाडौं : चीनको हुबेइ प्रान्तका ६ सहरमा रहेका १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको जहाजले घर फर्कन चाहने ती नेपालीलाई वुहानबाट काठमाडौं ल्याएको हो ।

विमान आज बिहान तीन बजे काठमाडौंमा अवतरण गरेको हो । बेइजिङ दूतावासका अनुसार जहाजमा १ सय ७० विद्यार्थी, १ कामदार, २ अन्य यात्री र २ बालबालिका नेपाल फर्किएका हुन् ।

चीनमा रहेको नेपाली दूतावासले ६ विभिन्न सहरमा आउने नेपालीका लागि ६ वटा गाडीको व्यवस्था गरेको थियो । वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको हो ।

विमानमा चढ्नुअघि यात्रुहरुको आवश्यक स्वास्थ्य जाँच गरिएको थियो । चार जना यात्रुले अन्तिम समयमा वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनाले स्वास्थ्यका कारण नेपाल फर्कन नपाएको दुतावासले जनाएको छ ।

यसैबीच चीन गएको जहाजमा नेपालले सहयोग दिएका १ लाख थान मास्क पनि वुहान पुर्याइएको थियो । नेपाल ल्याइएका सबैजनालाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ ।