धरान : ४८ लाखको कारोबार गदै पाँच दिने ‘प्रदेश १ स्तरीय पुष्प प्रदर्शनी तथा व्यापार मेला’ आइतबार सम्पन्न भएको छ ।

फ्लोरिकल्चर एशोसिएन नेपाल सुनसरीको आयोजनामा गत बुधबारदेखी पब्लिक माविको खेल मैदानमा सुरु भएको पुष्प मेला आइतबार सम्पन्न भएको हो । मेला अवधिभर ४८ लाखको कारोबार भएको मेला संयोजक कल्पना लिम्बुले बताइन् । यो पटक मेला स्थल सारिएकोले अपेक्षा गरे अनुसार ग्राहकहरुको सहभागीता नभएको आयोजकको निष्कर्ष रहेको उनको भनाई छ । ‘मेलामा करिब ४८ लाखको कारोबार भयो’ मेला संयोजक लिम्बुले भनिन् ‘अमान बजारमा लगाउदै आएको मेला स्थल सारियो त्यो कारणले त्यती सोचे जस्तो भएन, ठिकै मात्र भयो ।’ उनले मेलामा मौसमी फुल धेरै विक्री भएको बताइन् ।

यस्तै, पुष्प व्यावसायि यूमेनहाङ राईले मेलामा सन्तोष जनक कारोबार भएको प्रतिक्रिया दिए । ‘करिब डेढ लाखको कारोबार भयो’ उनले भने ‘मेरो स्टलमा एञ्जलीया फुल धेरै विक्री भयो ।’ अर्का व्यावसायि राजेश कुमार राईले मेलामा सन्तोषजनक कारोबार भएको प्रतिक्रिया दिए । उनले ९० हजारको कारोबार भएको बताए । उनले भने ‘नयाँ ठाउँ अनि प्रचार प्रसार कमि भयो त्यसैले मेला सोचे जस्तो भएन भन्ने लाग्छ ।’

11

मेलामा यस पटक पूर्व मा नै पहिलो पटक उत्पादन गरिएको सेरामिक गमलाले समेत ग्राहकको खासै मन जित्न सकेन । मोरङको पथरीमा उत्पादन गरिएको कलात्मक बुटाले भरिएको सेरामिक गमला मुख्य आकर्षणको रुपमा राखिएको थियो । व्यापार भन्दा पनि यसको प्रचार राम्रो भएको पथरी सेरामिक उद्योगकी सञ्चालक सरोजा खड्गीले बताइन् । ‘सेरामिक गमला नयाँ प्रोडक्ट भएकोले ग्राहकहरुले त्यती बुझ्नु भएको छैन जस्तो लाग्छ हामीले पनि बुझाउन सकिएको छैन’ उनले भनिन् ‘पुष्प मेलामा कारोबारको हिसाबले खासै नभएपनि त्यो भन्दा धेरै यसको प्रचार प्रसार भयो त्यसमा खुशी छु ।’

एसोसिएसनका सुनसरी अध्यक्ष खगेन्द्र पोखे्रेलले मेलामा उत्साहजनक सहभागीता नभएपनि राम्रै कारोबार भएको बताए । ‘मेला सन्तोषजकन नै सम्पन्न भयो, मेला आयोजना गरेर सम्पन्न गर्नु नै ठुलो कुरा हो, ठाउँ परिवर्तनले पनि केही असर गर्यो’ उनले भने ‘अर्को वर्ष देखी एउटै समयमा आयोजना गछौं ।’

मेला अवधिभर करिब ६० लाखको कारोबार गर्ने र ५५ हजार बढीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा थियो । तर, त्यो पुग्न सकेन । अघिल्लो वर्ष करिब ६० लाखबढीको कारोबार गरेको थियो । झापा, मोरङ, उदयपुरदेखी काठमाडौंसम्मका मानिसहरु पुष्प मेला अवलोनक गर्न आएको आयोजकले जनाएको छ । मौसमी फुल, आर्किड, लालुपातेलगायत प्रजातीको फुल ग्राहको मुख्य रोजाइमा परेको थियो । मेलामा ५२ वटा स्टलमा करिब ५ सय बढी प्रजातीका फुल तथा बोट विरुवा प्रदर्शनी तथा विक्रीका लागि राखिएको थियो । यस पटक फुल प्रेमिहरुले ड्रागन फुड्सको स्वाद चाखेका थिए । मेलामा झापा, मोरङ, सुनसरी, उदयपुरसम्मका पुष्प व्यावसायिहरुले स्टल राखेका थिए ।