धरान : सुनसरी उद्योग बाणिज्य संघले आयोजना गर्ने १० दिने औद्योगिक व्यापार मेला लाग्न अघिनै विवाद देखिएको छ ।

धरान १२ स्थित पब्लिक हाईस्कुलको खेलमैदानमा यही फाल्गुण १५ गते देखि २४ गते सम्म लाग्ने औद्योगिक व्यापार मेला २०७६ को अन्तिम तयारी पुरा भएको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन भईरहदा आयोजकहरु मेलामा संचालन हुने बाल उद्यानको विरोधमा परेको निबेदनको स्पष्टिकरण दिदैमा हैरानी भएका छन् । भारतीय मान्छेलाई मेलामा बाल उद्यान संचालन गर्न दिईएको र करोडौ रुपैया बिदेशिने भन्दै इटहरीका नारायण महतोले धरान उपमहानगरपालिका, आन्तरीक राजश्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र अख्तियारमा समेत उजुरी दिएका छन् । उजुरी परे पछि आन्तरीक राजश्व कार्यालयले बोलाएको सुनसरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष गोपाल श्रेष्ठले बताए । निकै लामो समय देखि धरानमा मेला लगाउदा विवाद हुने मुख्य विषयनै बाल उद्यान तथा फन पार्क हुने गरेकोमा सुनसरी उद्योग बाणिज्य संघले आयोजना गर्ने औद्योगिक व्यापार मेलामा पनि बाल उद्यानको विरुद्धमा उजुरी परेको हो ।

मेलामा भारतीयलाई बाल उद्यान संचालन गर्न दिईएको भन्दै उजुरी परे पनि चितवनको भद्रपुर नगरपालिका वडानं. ३ का प्रभु राजभण्डारीको प्रईगल फन एण्ड इन्टरटेन्टमेण्टलाई दिईएको आयोजक सुनसरी उद्योग बाणिज्य संघका कोषाध्यक्ष गोपाल श्रेष्ठले बताए । सम्झौता गरिएको सम्झौता पत्रमा भने के कतिमा सम्झौता भएको हो यसबारेमा खुलाईएको छैन । बाल उद्यानबाट करोडौ पैसा धरान बाहिर जाने भनिएकोले सवै टिकटमा भ्याट लागु गराई शुल्क लिने व्यावस्था गरिने पनि कोषाध्यक्ष श्रेष्ठले बताए ।

गोर्खा ब्रुअरी प्रा.ली को मुख्य प्रायोजन, ग्लोबल आईएमई बैकको प्रायोजन,बराहा ग्रुप र डिभाईन वाईनको सहप्रायोजन, नेपाल उद्योग बाणिज्य महासंघ, धरान उपमहानगरपालिकाको प्रर्वद्धन र एसियान थाई फुडस्, जिपिएस मोटरसाईकल, हेरिटेज कार्पेट,ताजा आईसक्रिम, बेबी आईसक्रिम, नेक्ड एक्सप्रेस, बागमति प्लाष्टिक उद्योग प्रा.ली. को सहयोगमा सुनसरी उद्योग बाणिज्य संघको आयोजनामा हुन लागेको औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरण पुगेको मंगलबार उद्योग बाणिज्य संघमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पर्यटन, कृषि, सुचना प्रविधि, कला संस्कृति, शिक्षा तथा औद्योगिक व्यापारको प्रर्वद्धन सहित आन्तरीक र वाह्य पर्यटक सहित तीन लाख बढीले मेलाको अवलोकन गरिने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । मेलामा बैक तथा वित्तिय संस्थाका २ वटा, होटलका ५ वटा, ढाका, अल्लो, ह्याण्डीक्राप्टका ८ वटा, नर्सरीका २ वटा, महका ४ वटा, गार्मेन्टका ५ वटा, अग्र्यानिक अचार, चिया, ललिपको ९ वटा, अन्तराष्ट्रिय उत्पादन भारत, पाकिस्तान, बंगलादेशका १४ वटा, पुस्तक तथा स्टेशनरीका २ वटा, थोपा सिचाईको १ वटा, स्थानिय भवन निर्माणको १ वटा, भवन निर्माण कम्पनी आरएमसीको १ वटा, अटोमोवाईलका २ वटा, आइसक्रिमका २ वटा, बराहा ग्रुपको ६ वटा, विस्कुटको १ वटा, चाउचाउको २ वटा, स्वास्थ्य, पर्यटन, चित्रकलाका ३ वटा, दुगड फुडसको २ वटा, कस्मेटिकको १ वटा, प्लाष्टिकको भाडाको ३ वटा, वाईनको १ वटा, दुग्ध विकास संस्थानको १ वटा, कार्पेटको २ वटा र शैक्षिक संस्थाको १ वटा गरी जम्मा ८६ वटा स्टल रहने पत्रकार सम्मेलनमा औद्योगिक व्यापार मेलाका मुल संयोजक शिवराज श्रेष्ठले जानकारी दिए । मेलाको उदघाटन संघिय सरकारका उद्योग बाणिज्य तथा आपुर्ति राज्य मन्त्रि मोतिलाल दुगडले गर्ने बताईएको छ ।