झापा :  झापामा सञ्चालित एम्बुलेन्सहरुलाई प्रशासनको पटक पटकको अनुगमनले अझै छुन सकेको छैन । अझैपनि केहि एम्बुलेन्सहरु एम्बुलेन्स सञ्चालनको मापदण्ड बिपरित नै छन् । प्रशासनको मौसमी अनुमगन निश्प्रभावी बन्दा त्यस्ता एम्बुलेन्स चालकहरुको मनोबल भने उच्च बन्दै गएको पाईएको छ ।

पछिल्लो पटक झापामा सञ्चालित एम्बुलेन्सको अवस्था कस्तो छ भनेर गत माघ ७ गते मंगलबार अनुगमन गरिएको थियो । झापाको दमकबाट सञ्चालन हुदै आएका एम्बुलेन्सहरुको पछिल्लो अवस्थाका बारेमा सम्बन्धित कार्यालयहरुले संयुृक्त रुपमा अनुगमन गरेका थिए । तर केहि दिन नियम पालना गरेझै गर्ने ति एम्बुलेन्स चालकहरुले अहिले प्रशासनको अनुगमनलाई लत्याएर पुरानै पारा देखाउन थालेका छन् ।

दमकमा रहेका प्राय: अस्पतालमा अस्पताल अगाडी बसेर बिरामी करिरहेका हुन्छन् अहिलेपनि एम्बुलेन्सहरु । एम्बुलेन्स सञ्चालन मापदण्ड तथा निर्देशिकामा उल्लेख भए अनुसार एम्बुलेन्स जुन स्थानका लागि भनेर कर छुटमा ल्याईएको हो सोही स्थानका नागरिकलाई सेवा दिन सोही स्थानमा राखिनुपर्ने हुन्छ । तर अहिलेसम्म त्यसो हुन सकेको छैन । बरु दिनभरनै बकुल्लाले माछा ढुकेझै गरि एम्बुलेन्सहरु अस्पताल अगाडी बिरामी र तिनका कुरुवा ढुकेर बसिरहेका भेटिन्छन् ।

ग्रामिण भेगबाट सञ्चालन हुने एम्बुलेन्सहरु शहर केन्द्रित बनिरहेका छन् अनि बिरामीले चाहेको बेला एम्बलेन्स भेट्दैनन् । एम्बुलेन्सहरुले प्रदान गर्ने सेवा सुबिधाका विषयमा पनि बेला बखत जनगुनासो आईनै रहेको हुन्छ । यि र यस्तै विषयहरुलाई मध्यनजर गर्दैै गत माघ ७ गते अनुगमनका क्रममा प्राय: जसो एम्बुलेन्सहरु आवश्यक मापदण्ड पुरा नगरेको र आवश्यक कागजात समेत नाराखी सञ्चालन गरिरहेको पाइएकोले कारवाही गर्ने भनेर जनस्वास्थ्य कार्यालय झापाका तत्कालिन निमित्त प्रमुख ईश्वरी कार्कीले बताएका थिए । केहि दिनसम्म त अनुगमनको प्रभावपनि पर्यो । तर अहिले आएर फेरी पुरानै पारा देखिएको छ ।

Jhapa-Ambulance

एम्बुलेन्स चालकहरुलाई कारवाहीले खासै प्रभाव पारेको पाईदैन । उनीहरु अहिलेपनि पुरानै अवस्थामा फर्किसकेका छन् । अस्पताल अगाडी बिरामी रुघ्ने क्रम अझै २० को १९ हुन सकेको देखिदैन । ‘क’ वर्गका एम्बुलेन्समा अस्पतालको आकस्मिक कक्षमा प्रयोग हुने औषधी, उपकरण र स्वास्थ्यकर्मी, चालकमा स्वास्थ्य सम्बन्धि आधारभूत तालिम राष्ट्रिय प्रदुषण मापदण्ड अनिवार्य रूपमा पालना गरेको हुनुपर्ने र एम्बुलेन्सको पहिचान खुल्ने गरी आवाज (साइरन), निलो रंगको संकेत बत्ती, फोरह्वील ड्राइभ, सस्पेन्सनको चेन सिस्टम, संस्थाको टेलिफोन नम्बर अंग्रेजी र नेपाली भाषामा अनिवार्य देखिनेगरि लेख्नु पर्छ तर यी मापदण्ड प्राय एम्बुलेन्समा नरहेको पाईएको छ ।

एम्बुलेन्स सम्बन्धि निर्देशिका २०७३ ले ‘क’, ‘ख’ र ‘ग’ मा बर्गीकरण गरेर त्यसै अनुसारका सुविधा एम्बुलेन्सहरुमा हुनुपर्ने भनिएको छ । तर, सञ्चालनमा रहेका अधिकांश एम्बुलेन्स मापदण्ड अनुसारका नरहेको पाईन्छ ।