झापा : झापाको दमकस्थित लाइफलाइन अस्पतालले मिर्गाैला विरामीका लागि डायलोसिस सेवा शुरुआत गर्ने भएको छ ।

रोटरी क्लब अफ दमकको सहकार्यमा अस्पतालले आगामी दुई महिनाभित्र यहाँ पहिलोपटक सेवा शुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा तिलकचन्द्र साहले बताए । ती दुईसंस्थाका बीच सम्झौता समेत भएको छ । अध्यक्ष डा साहका अनुसार चार शैयाबाट बिरामीलाई सो सेवा प्रदान गरिनेछ ।

सो सेवाबाट यस क्षेत्रका बिरामीले थप सुविधा पाउने विश्वास गरिएको छ । जिल्लाको विर्तामोड र भद्रपुरमा सो सेवा सञ्चालन हुँदै आएको छ । अस्पतालमा आज आयोजित कार्यक्रममा सेवा सञ्चालन सम्बन्धी सम्झौता भएको रोटरीका अध्यक्ष सन्दीप चापागाईंले जानकारी दिए । रु ८० लाख मध्ये ७५ प्रतिशत रोटरी र २५ प्रतिशत अस्पतालको लगानी हुने जनाइएको छ । सो अवसरमा अध्यक्ष डा साहले सेवा सञ्चालन गर्न प्राविधिक जनशक्ति व्यवस्थापन गरिसकिएको जानकारी दिए ।