इलाम । छैटौं संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागी लिग बिजेता मछिन्द्र र आयोजक माईभ्याली फुटबल क्लबबिच प्रतिस्पर्धा हुँदैछ ।

ठुलो टुडिखेलमा जारी प्रतियोगिताको अघिल्लो संस्करणमा झै यस पटक पनि २ नयाँ टिमबिच उपाधिकोलागी भिडन्त हुन लागेको हो । शहिद स्मारक लिगपछि सहभागितामा जनाएको ३ वटा मध्ये २ वटाको फाइनलमा पुगको मछिन्द्र उच्च मनोवलका साथ मैदान उत्रने तयारीमा छ । अघिल्ला ५ संस्करणमा भन्दा सुधारिएको खेल प्रर्दशन गर्ने लक्ष्य रहेको आयोजक अनेपक्षित नतिजा निकाल्दै फाइनलमा प्रवेश गरेको हो । विभिन्न क्लबहरुबाट कलेक्सन गरिएको खेलाडीहरु भएपनि आयोजक स्पष्ट जित निकाल्दै उपाधि होडसम्म पुग्यो । फाइनलसम्म पुग्न आयोजकले पाहुना टोली ग्यान्टोक सिटीलाई २-० र मोहम्मडन स्पोर्टस कोलकत्तालाई २-१ ले हरायो । उपाधिको दावेदारको रुपमा हेरिएको पहिलो संस्करणको बिजेता आर्मीलाई सडन डेथमा पराजित गरेपछि घरेलु टोलीलाई अन्डरडगको रुपमा आंकलन गर्न थालिएको छ ।

Mai-Vally-Logo

राष्ट्रिय र पुर्व राष्ट्रिय खेलाडीले भरिएको मछिन्द्र लिगपछि सहभागीता जनाएको सताक्षी गोल्डकपको बिजेता र २२ औ बुढासुव्वा गोल्डकपको सेमीफाइनलिष्ट टोली भएकाले उच्च फर्ममा छ । यद्यपी केही स्टार खेलाडीहरुको इन्जुरीको समस्याका कारण गोर्खा व्वाइज रुपन्देही विरुद्धको क्वाटरफाइनल खेलमै जित निकाल्न टाइव्रेकरको सहयोग लिनुपर्यो ।

फाइनल अघिको प्रि-म्याच कन्फ्रेसनमा बोल्दै आयोजकका प्रशिक्षक दर्शन भक्तराजले फाइनल पुग्नुनै आयोजककालागी महत्वपुर्ण उपलव्धी भएको बताए । यद्यपी टिमले मछिन्द्रलाई कडा टक्कर दिने बताए । ‘ प्रेसर नलिइ नै प्रतिस्पर्धा गर्छौ । प्रतियोगिता सफल रुपमा सम्पन्न हुनु नै जित हो अनपेक्षित नतिजाका साथ फाइनल पुगेको छौ । यसको फाइदा उठाउने छौ । ’ अन्डर डग टोली भएकाले जितका लागि फरक रणनितीका साथ मैदान उत्र्ने तयारी रहेको उनले बताए । कलेक्सन टोली भएपनि खेलाडीहरुको उच्च मनोबल जितको आधार बन्न सक्ने भक्तराजले बताए ।

यता मछिन्द्रका प्रशिक्षक प्रवेश कट्वाल विपक्षी टोलीको घरेलु मैदानमा आफना खेलाडी अनुभवी भएपनि जितकालागी कडा प्रतिस्पर्धा हुने बताए । उनले आयोजकले अघिल्ला खेलहरुमा फरक फरक खेलाडी मैदान उतारेका कारण सुरुवाती १५ मिनेटमा उनीहरुको रणनितीलाई ध्यानमा राखेर नियमित रणनितीमा केही परिमार्जन गरेर खेल्ने बताए । ‘ खेल कसले जित्छ भनेर सुरुमै भन्न सकिन्न । आयोजकले यसअघिका खेलमा फरक फरक खेलाडी उतारेकाले भोलीको खेलमा को को हुने छन भन्ने कुराले रणनिती तय गर्नेछ । उनीहरुले प्रतिस्पर्धीलाई कडा चुनौती दिएको छन् । ’ उनले भने ‘ लिगमा समेत कमजोर मानिएको टोली हिमालयन शेर्पासंग पराजित भएका थियौ । एउटा मौकाले पनि खेल परिर्वतन हुन सक्छ । यद्यपी आयोजकमा भन्दा बढी अनुभवी खेलाडी मछिन्द्रमा छन् । ’

मछिन्द्र क्लबबाट खेलाडीहरुले यसअघि झापा-११, थ्रीस्टार र मनाङ मर्स्याङदी क्लबबाट इलामे मैदानमा प्रतिस्पर्धा गरिसकेका छन् । मछिन्द्र क्लबका केही स्टार खेलाडी इन्जुरी समस्यामा रहेको कट्बालले बताए । एडिलाजा सोमिडे, विशाल राई र दिपक राई इन्जुरी समस्याले केही अफ्ठयारो महसुुुस गरिरहेका छन् । तर योगेश गुरुङले ९० मिनेट खेल्न नसक्दा विशाललाई उतार्नु पर्ने बाध्यता छ । अरु खेलाडीहरु उच्च फर्ममा नै छन् ’ उनले भने । एडिलाजा सेमीफाइनल खेलमा मात्र मैदानमा देखिए ।
मछिन्द्रका कप्तान विराज महर्जनले आर्मी जस्तो सशक्त टोलीलाई हराएकाले आयोजक विरुद्धको खेल ५०/५० हुने बताए ।

प्रतियोगिताको बिजेता नगद ८ लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछ । फागुन १४ गतेबाट जारी प्रतियोगितामा ४ पाहुना टोली सहित १० क्लबको सहभागीता रहको थियो । मछिन्द्र र आयोजक पहिलो पटक आमनेसामने भएका हुन् । यसअघिका ५ संस्करणका्े प्रतियोगितामा आर्मी, थ्रीस्टार र क्यामरुनी टोली दाउफिन्सले १-१ संस्करण जितेका थिए भने झापा-११ ले २ संस्करणको प्रतियोगिता आफनो पक्षमा पारेको थियो ।