'बाहुबली' फेम दक्षिण भारतीय अभिनेत्री अनुष्का शेट्टीको नाम सोही सिनेमाका अभिनेता प्रभाससँग निक्कै नै जोडियो।

त्यसबारेमा अनेक समाचार र गसिप बने।उनीहरूले ती समाचारहरूलाई लगातार आफूहरू राम्रो साथी मात्र भएको भन्दै अस्वीकार गर्दै आइरहे। प्रकाशित समाचारहरुमा उनीहरूबिचको सम्बन्ध प्रेममा मात्र सिमित भएन, उनीहरू विवाह नै गर्दैछन् भन्ने सम्म छापिए। केही समय पछि सो हल्ला मत्थर हुँदै गयो।

तर अब अनुष्काका बारेमा लिएर नयाँ खबर सार्वजनिक भएको छ। हिन्दुस्तान टाइम्सको अनलाइन संस्करणमा प्रकाशित समाचारका अनुसार अनुष्का प्रभाससँगको नभई एक निर्देशकसँग प्रेममा छिन्। सो समाचारका अनुसार अनुष्काको 'जजमेन्टल हे क्या' सिनेमाका निर्देशक प्रकाश कोभेलामुण्डीसँग प्रेम चलिरहेको छ।

सन् २००४ मा तेलेगु भाषामा बनेको बाल सिनेमा 'बोम्मालता' बाट सिनेमा निर्देशनमा डेब्यू गरेका उनले अनुष्कालाई लिएर सन् २०१५ मा तेलेगु-तमिल कमेडी 'साइज जिरो' बनाएका थिए। उनीहरूबीच सोही सिनेमापछि प्रेम सुरु भएको बताइन्छ।