धरान : लिम्बु जातिको संस्कृतिमा आधारित फिल्म ‘के : साङ्ला’ धरानमा विशेष प्रदर्शनी गरिएको छ ।

लोकेन साँवाले निर्देशन गरेको ‘केःसाङ्ला’ मा लिम्बु समुदायका युवायुवतीबिच हुने माया प्रेम र तानेर विवाह गर्ने प्रचलन प्रस्तुत गरिएको छ । च्याब्रुङ बजाउने गजो अर्थात् के : साङ्लालाई मायाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

तेह्रथुमे धरान तुम्बाहाम्फे समाजको आयोजना तथा याक्थुङ सिङ्गक फाउन्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा धरानको गोर्खा सिनेप्लेक्समा सोमबार बिहान भएको विशेष प्रदर्शनीमा अग्रज कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, के:साङ्लाका निर्देशक लोकेन साँवा, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाम्फे लगायतको उपस्थिति थियो । प्रदर्शनी कार्यक्रममा बोल्दै कलाकार प्रेम सुब्बाले लिम्बु भाषा र संस्कृतिमा बनेको के :साङ्लाले लिम्बु समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिबारे सचेत गराउने बताए ।

Film-Ksangal

फिल्ममा भीम तुम्बाहाम्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाङ्गो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गङ्गा तुम्बाहाम्फे, महिमा लिम्बू, तुलसा लिम्बू लगायतको अभिनय रहेको छ । फिल्मका सिनेम्याटोग्राफर भूपेन्द्र तुम्बाहाम्फेले पनि अभिनय गरेका छन् । अशोक लोहोरुङ राईको पार्श्व सङ्गीत रहेको फिल्ममा दिनेश माङ्मुको मुख्य सहायक निर्देशन र कोरियोग्राफी तथा मनु नेम्बाङ, यासेली योङ्हाङ , श्रेयसी चेम्जोङको स्वर रहेको छ । फिल्मको कथा पनि निर्देशक सावाँकै हो  भने सम्पादन विपिन मल्लले गरेका हुन् ।
फिफरानी तुम्बाहाम्फे, विष्णुकुमार पङ्धाक, भिमकुमार तुम्बाहाम्फे, सञ्जयकुमार तुम्बाहाम्फेको निर्माणमा चोक्फुङ इन्टरटेनमेन्ट प्रा. लि को ब्यानरमा बनेको के:साङ्ला यसअघि नै हङकङ, भारतको आसामका विभिन्न ठाउँ, काठमाडौँ र पाँचथरमा प्रदर्शन भइसकेको छ । लिम्बु समुदायको संस्कार, संस्कृतिबारे युवापुस्तालाई सचेत गराउन र अन्य समुदायलाई समेत जानकार गराउन के : साङ्लाको विशेष प्रदर्शनी गरिएको संयोजक मिना सिङ्गकले बताइन् ।