काठमाडौं । कोरोना भाइरसको त्रासका कारण नेपाली चलचित्र हलहरुमा व्यापार घटेको छ । 

मन्त्रिपरिषदको बैठकले ठूलो संख्यामा मानिसहरुको भेला हुने सिनेमा हलमा नजान आव्हान गरेको थियो । ‘कोरोना भाइरसको संक्रमणबाट जोगिन ठूलो संख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य एंव मेला महोत्सव सहभागी नहुन आम जनसमूदायलाई आह्वान गर्ने’, सरकारले गरेको निर्णयमा भनिएको छ ।सरकारको आह्वान भन्दा अगावैदेखि कोरोनाको त्रासले हलमा दर्शक पातलिन थालेका थिए । सरकारी निर्णयपछि हलहरु थप सुनसान हुन थालेका छन् । देशभरका लगभग एकसय भन्दा बढी हलहरु बन्द हुने अवस्थामा पुगेको र ब्यापार चौपट बनेको हल संचालकहरुको भनाइ छ ।

कतिपय स्वदेशी तथा विदेशी चलचित्रहरुले आफ्नो प्रदर्शनको मिति पर सारेका छन् भने मिति निर्धारण भइसकेको चलचित्रहरु अन्योलमा छन् । ‘लक्का जवान’ र चैत २८ का दुई फिल्म ‘प्रेमगीत ३’ र ‘चपली हाईट ३’ को प्रदर्शनमा अन्योलता देखिएको छ । यसअघि ‘म यस्तो गीतत गाउँछु २’ र ‘नीरफूल’ले प्रदर्शन स्थगित गरेका छन् ।

फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकारद्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को ‘सेन्टी भाइरस’ शुक्रवारबाट काठमाडौंका मल्टीप्लेक्सहरुबाट उत्रिएको छ । तेस्रो हप्तासम्म हलमा टिकेको चलचित्र चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् । यद्यपी, चलचित्रले दुई हप्तामा चार करोड रुपैंयाँ आम्दानी गरेको दाबी निर्माण पक्षले गरेको छ ।

कोरोनाको त्रासका कारण नयाँ चलचित्रहरुले मिति घोषणा गर्न सकेका छैनन । हाल प्रदर्शनमा रहेको दीपेन्द्र के खनालको ‘आमा’ले भने दर्शकहरुको न्यून साथ पाइरहेको छ ।