धरान : धरानमा नाटक घर निर्माण हुन लागेको भन्दै केही राजनितिक दलका नेताहरुले विरोध जनाएकोमा धरानका रंगकर्मीहरुले  आपत्ती जनाएका छन् ।

सय वर्षको रङ्गमञ्चीय इतिहास भएको अनि रङ्गमञ्चीय दृष्टिले उर्वर धरानमा सुनसरी क्षेत्र नं. १ का सङ्घीय सांसद जयकुमार राईको सांसद कोषबाट धरानमा नाटक घर निर्माणका लागि विनियोजन गरिएको ४० लाख रुपैयाँमा नाकट घर बनाउने थालनी हुन लागेको बेला केही राजनीतिक नेताहरुले विरोध जनाई रोकेको भन्दै रंगकर्मीहरुले आपत्ती जनाएका हुन् ।

उनीहरुको त्यस्तो कला तथा कलाकार विरोधी कार्यको विरुद्ध धरानमा नाटक घर बनाउनै पर्छ भन्ने दबाबका साथ नाटक घर निर्माण समितिको नेतृत्वमा धराने रङ्गकर्मीहरुले आज मंगलबार नाटकीय मास्क सहित र्यालीनिकालेका छन् ।

र्याली सहित नगरपालिका गएको रङ्गकर्मीहरुको समूहले मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै मेयर राईले यस विषयमा सर्वदलीय बैठक बोलाई युद्धस्तरीय रुपमा लाग्ने बताए ।

सांसद कोषको ४० लाख बजेट तत्काल कार्यान्वयन नगरे फिर्ता जाने भएको हुँदा धरान सभागृहको परिसरमा रहेको खाली जग्गामा २०० सीटको नाटक घर बनाउन धराने रङ्गकर्मीहरुको एक पहला समिति बनेको थियो ।

धरानका अग्रज कलाकार प्रेम सुबबाको संयोजकत्वमा बनेको सो पहल समितिले प्रदेश सभामुख, मेयर, उपमेयर, राजनीतिक दलहरु, वडा समितिको सहमतिका आधारमा नाटक घर बनाउने कार्य थालनी हुन लागेको थियो ।

सबैको सहमति जुटेको अवस्थामा नाटक घर निर्माण पहल समिति निर्माण समितिमा रुपान्तर भई निर्माण कार्य शुरु गर्न लाग्दा केही राजनीतिक दलहरुले विरोध जनाएका थिए । जसले गर्दा धरानमा बन्न लागेको नाटक घरको निर्माण रोकिन पुगेको छ ।

नाटक घर निर्माण समितिले नगरपालिकाले यसमा सकारात्मक पहल नगरे जो जो विरोधीहरु छन्, उनीहरु समेतलाई राखी सार्वजनिक रुपमा मिडिया अन्तरक्रिया गर्ने अबको कार्यक्रम रहेको आरम्भ नाट्य डबलीका अध्यक्ष तथा निर्माण समितिका सहसंयोजक गोपाल देवानले बताएका छन् ।

निर्माण समितिका संयोजक प्रेम सुबबाले नाटक घर जसरी भए पनि निर्माण गरिछाड्ने प्रतिबद्धता व्यक्तगर्दै नगरपालिकाकै संरचना बनाउन लाग्दा, धरानलाई कलागत रुपमा समृद्ध बनाउन खोज्दा असहयोग गर्नु महामूर्खताभएको धारणा व्यक्त गरे ।