इटहरी : मङ्गलवारदेखि नेपाल सरकारले नेपालमा लकडाउन गर्ने निर्णय गरेको छ । संक्रामक रोग ऐन २०२० अनुसार कोरोना भाइरस नियन्त्रणको लागि सरकारले 'लकडाउन' गर्ने निर्णय गरेको थियो ।

यदि संक्रामक रोग ऐन अनुसार जनताले आदेशको पालना गरेरन भने सुरक्षाकर्मीले कारबाही गर्न सक्छन् । प्रमुख जिल्ला अधिकारीले यदि आदेशको पालना नगरे १ महिना सम्म जेल चलान गर्न सक्ने प्रावधान छ ।

यता मोरङको उर्लाबारी नगरपालिकामा लकडाउनको अवज्ञा गर्दै सडकमा हिड्नेहरुलाई भने उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले भाटा हानेका थिए ।

अनुगमनका क्रममा नगरपालिकाको प्रमुख राजमार्गमा भेटिएकाहरूलाई प्रमुख फागो आफैले भाटा हानेका हुन् । उनले लकडाउनको उल्लङ्घन गर्नेहरूलाई भाटा हानेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

स्थानीय जनप्रतिनिधिलाई राज्यले अहिले समन्वय र नीतिगत व्यवस्थापनको जिम्मा दिएको छ । इटहरीका जनप्रतिनिधि क्वारेन्टाइन व्यवस्थापनमा, धरानका जनप्रतिनिधि जनताको घरमा अत्यावश्यक सामान पुर्‍याउने काममा,विराटनगर स्प्रे छर्किने लगायतको काममा छन् ।

स्थानीय प्रशासन ऐनले भाटा हान्ने अर्थात् लाठी चार्ज गर्ने र कारबाही गर्ने जिम्मा सुरक्षा निकायको भनी स्पष्ट पारेको छ ।

'लकडाउन' तोडे के छ सजाय ?

सक्रामक रोग ऐन अनुसार सरकारले महामारी नियन्त्रण गर्न क्रममा जारी गरेको आदेश नमान्ने व्यक्तिलाई १ महिना सम्म जेल राख्न सक्ने प्रावधान गरिएको छ । तोकिएका मान्छेहरूलाई क्वारेन्टाइनमा बस्न वा अन्य नागरिकहरूलाई रोग सम्बन्धमा आदेश दिँदा अटेर गरेमा १ महिना सम्म जेल सजाय हुन्छ ।

ऐनको दफा ३ को उपदफा १ मा भनिएको छ 'यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अवहेलना गर्ने व्यक्ति उपर १ महिनासम्म कैद वा रु. १०० सम्म जरिवाना वा दुवै सजाय हुनेछ ।'

त्यस्तै, सरकारले खटाएका व्यक्तिलाई कसैले काममा बाधा पुर्‍याए ६ महिनासम्म कैद वा ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था पनि ऐनमा छ ।

सरकारको निर्देशनअनुसार असल नियतले खटिने कर्मचारी विरुद्ध कसैले नालिस वा अन्य कानुनी कारबाही गर्न नसकिने पनि ऐनमा व्यवस्था छ । सरकारको निर्देशन उल्लङ्घन गर्ने जो–कसैलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई हुने व्यवस्था छ ।