धरान : एक नम्वर प्रदेशका कोरोना आशंका गरिएका विरामीहरुको ल्याब परिक्षण अव धरानको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै हुने भएको छ ।

सरकारले कोरोना परिक्षणका लागि नमुना काठमाण्डौको टेकु अस्पतालको राष्ट्रिय प्रयोगशालामै पठाउनुपर्ने अवस्थाको अन्त्य गर्न भन्दै काठमाण्डौ बाहिर धरान, पोखरा र नेपालगञ्जमा कोरोना परिक्षणका लागि ल्याव तयारी गर्ने भन्दै आएको थियो ।

सोही अनुसार बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परिक्षणका लागि ल्याव तयार भईसकेको बताईएको थियो । बुधबार काठमाण्डौबाट सरकारले प्रतिष्ठानकै एम्वुलेन्स मार्फत किट पठाए पछि अव भने एक नम्वर प्रदेशका कोरोना आशंका गरिएकाहरुको ल्याब परिक्षण धरानमै हुने भएको हो ।

स्थानिय विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख डा. सुरेश मेहेताले किट आउने वित्तिकै शुक्रबार देखि परिक्षण हुने बताएका थिए । किट प्रतिष्ठानमा आईपुगे पनि अरु थप परिक्षणका लागि सामाग्री पनि चाहिने भएकोले प्रतिष्ठानको माईक्रोबायोलोजी विभागले बाकी सामानको लिष्ट तयार गरीरहेको प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले बताए ।

सबै सामाग्री आईसके पछि प्रतिष्ठानबाटै कोरोनाको परिक्षण सुरु हुनेछ । तर बाकी सामाग्री आउन धेरै समय नलाग्ने भएकोले चाडै कोरोना परिक्षणको ल्याव संचालनमा आउने पनि सहप्रवक्ता डा. ऐरले भने । विगतका दिनहरुमा प्रतिष्ठानले एम्वुलेन्सबाट आशंका गरिएका विरामीको नमुना काठमाण्डौ पठाईन्थ्यो र सामान ल्याईन्थ्यो भने अव इटहरी स्थित पृतना सैनिक मुख्यालयसंग सहकार्य गरेर हेलिकोप्टरबाट ल्याईन लागेको बताईएको छ ।

यसले गर्दा प्रतिष्ठानमा कोरोना परिक्षणका लागि चाडै ल्याब संचालनमा आउने प्रतिष्ठानका सहप्रबक्ता डा. अशोक ऐरले बताएका छन् ।

कोरोनाको आशंकामा २७ जना प्रतिष्ठान आईपुगे
केही दिनको अवधिमा बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना आशंका गरी आफै स्वास्थ्य परिक्षण गर्न आउनेको संख्या २७ पुगेको छ ।

आईपुगेका २७ जना मध्ये ७ जनालाई प्रतिष्ठानको आईसोलेसन वार्डमा राखिएको छ भने २ जनालाई नेपाली सेनाले तयार गरेको मोरङको टाँडी क्वारेनटाईनमा पठाईएको छ भने बाँकी १८ जनालाई होम क्वारेनटाईनमा बस्न भनिएको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा. अशोक ऐरले बताए ।

धरानमा कडा लकडाउन
कोरोना भाईरसको संक्रमणबाट जोगिन भन्दै सवैलाई घर भित्रै बस्ने भन्दै नेपाल सरकारले घोषणा गरेको लकडाउनको प्रभाव आज तेश्रो दिन धरानमा पुरै प्भाव परेको छ ।

पहिलो र दोश्रो दिनको तुलनामा आज धरानमा मानिस घर देखि बाहिर निस्किएका छैनन् भने बजार भित्री सडक र गल्लीहरुमा प्रहरीले निगारानी बढाएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार विहिबार ११ बजे सम्ममा धरानमा लकडाउन उलंघन गर्ने मानिस पक्राउ परेका छैनन् ।

विश्वभरी फैलिरहेको कोरोना भाईरसको जोखिम न्युनिकरण गर्न सरकारले गरेको यो लकडाउन आम नागरिकले कार्यन्वयन गर्नुपर्छ भन्दै डिएसपी न्यौपानेले भने लकडाउन अवधिभर कोही पनि घर बाहिर ननिस्किन अग्रह गर्दछु ।