इटहरी : प्रदेश नं १ सरकारले कोरोना नियन्त्रणलाई थप प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरेको छ । कोरोनाको रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई शनिबार मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको निर्देशन समितिको बैठकले मन्त्रिहरुको संयोजकत्वमा विभिन्न समिति बनाएको छ ।

प्रदेश सरकारले मुख्यमन्त्रीको संयोजकत्वमा स्थानीय तह सम्पर्क, समन्वय, प्रचार प्रसार तथा जनचेतना समिति,आन्तरिक मामिला मन्त्री हिक्मत कुमार कार्कीको संयोजकत्वमा क्वारेन्टाइन, परिबहन व्यवस्था तथा सुरक्षा व्यवस्थापन समिति गठन भएको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आइसोलेशन तथा विशिष्टिकृत अस्पताल एवं प्रयोगशाला सञ्चालन तथा व्यवस्थापन समितिको जिम्मा दिइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश प्रसाद कुसियैतले दैनिक उपभोग्य वस्तु आपूर्ति व्यवस्थापन समिति जिम्मा पाएका छन् ।

गठन भएका समितिहरुमा सम्बन्धित निकायका प्रतिनिधि सदस्य रहेका छन् ।

बैठकले कोरोना विरुद्धको अभियानमा खटेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, तथा कर्मचारीहरुलाई अतिरिक्त सुविधा प्रदान गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश सभाका सदस्यहरुलाई आफ्नो निर्वाचन क्षेत्रमा कोरोना विरुद्धको अभियानको संयोजन र अनुगमनको काम गर्ने निर्णय गरेको छ ।

यसैबीच मुख्यमन्त्री शेरधन राईको अध्यक्षमा आजै बसेको प्रदेश नं १ कोरोना जनसुरक्षा कोष, कोष सञ्चालक समितिको बैठकले प्रदेशका सुरक्षा समितिहरुलाई १ करोड ६८ लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

कोष सञ्चालकक समितिको बैठकले नेपाली सेनालाई क्वरेन्टाईनको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी, प्रदेशभित्रका जिल्ला प्रशासन कार्यालयहरुलाई क्वारेन्टाईनसम्म र कोरोना अस्पतालसम्म पुर्याउने जिम्मेवारी दिइएको छ । त्यस्तै नेपाल र प्रहरी र सशस्त्र प्रहरी बललाई अस्पताल र क्वारेन्टाईन क्षेत्रको सुरक्षा गर्ने, संक्रमितहरुको सुरक्षा र लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने जिम्मेवारी तोकेको छ ।