पथरी : घरमाथि बसेर इन्टरनेट चलाइरहेका पथरी एक एक बालकलाई भिडियो खिचेको भन्दै प्रहरीले लाठी प्रहार गरेको छ ।

प्रहरीको लाठीले पथरी शनिश्चरे ५ बस्ने १४ वर्षीय रोहन साह घाइते भएका छन् । प्रहरीले शुक्रवार शाहलाई घरबाटै घिसारेर लाठी बर्साएको थियो ।

शुक्रवार लाग्ने हसन्दह बजारमा लकडाउन उल्लङ्घन गर्नेहरूलाई हटाउन पुगेको कुशेचाैरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक हरिलाल राजवंशीको टोलीले लाठी बर्साएको पीडितका बाबु वीरेन्द्र साहले बताए ।

घरमाथिबाट झारेर पाइपको लाठी बर्साउँदै ५ सय पटक उठबस गर्न लगाएको साहले बताए ।

करिब १ सय पटक उठबस गरेपछि उठबस गर्न नसकेको भन्दै फेरि लाठी बर्साएका थिए ।

राेहन हाल पथरीकाे मोरङ हस्पिटल प्रालिमा उपचाररत छन् । उनको अवस्था हाल सामान्य रहेको छ ।

यता निज प्रहरी हरिलाल राजवंशीले भने लकडाउन उलङ्घन गर्नेलाई हटाउँदा भिडियो खिचेकाले, भिडियो नखिच्न भन्दै सम्झाएको बताए । निज राजवंशीले उठबस गर्न लगाएको स्वीकार गरेकाले विभागीय कारबाहीका लागि सिफारिस गरिएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपी) दिलीप कुमार गिरीले बताए ।