धरान: अंग्रेजी नयाँ बर्ष २०१९ कये पहिलो दिन जनवरी १ मनाउन अहिले प्रदेश नं १ को प्रमुख पर्यटकीयस्थल भेडेटारमा आन्तरिक तथा बाह्य पर्यटकहरुको घुइचो लागेको छ ।
भेडेटारमा अंग्रेजी नयाँ बर्षमा आउने पर्यटकहरुलाई बिशेष बनाउन हिजो सोमबारदेखि सातौं फुड फेस्टिवल भइरहेको छ । न्यू इयर इभ र न्यू इयर मनाउन भेडेटारमा आन्तरिक मात्र होइन, भारतीय पर्यटकहरुको घुइचो लाग्ने गरेको छ । भेडेटारमा अंग्रेजी नयाँ बर्ष मनाउन आउने पर्यटकहरुमा ९० प्रतिशत भारतीय हुन्छन् । तिनै भारतीय पर्यटकहरुलाई नयाँ बर्ष खास एवं बिशेष बनाउन भेडेटार होटल एशोसिएशनले फुड फेस्टिवल आयोजना गर्दै आएको छ ।

नयाँ बर्ष २०१९ को पहिलो दिन १ जनवरी(आज मंगलबार) भेडेटारमा विगतमा जस्तै पर्यटकहरुको घुइचो भएको एशोसिएशनका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए । पर्यटकहरुलाई मनोरञ्जन दिलाउन भेडेटार चोकमा सांगीतिक, साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना भइरहेको उनले जानकारी दिए । ‘पर्यटकहरु डिजे ललितको डिजेइङमा रमाइरहेका छन् । कोही झरना, पाथीभारा मन्दिर, नाम्जे घुम्न गइरहेका छन्,’अध्यक्ष रुम्दालीले भने ।










































































